काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ। बिहान १०ः१५ बजेसम्म प्राप्त विवरणअनुसार रास्वपाले २७ निर्वाचन क्षेत्रमा विजय हासिल गरिसकेको छ भने थप ९० क्षेत्रमा अग्रता कायम राखेको छ।
निर्वाचन आयोगका अनुसार रास्वपाका तर्फबाट मोरङ क्षेत्र नं. ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो, बारा ३ मा अरविन्द साह र पर्सा १ मा बुद्धिप्रसाद पन्त निर्वाचित भएका छन्।
काठमाडौँका सबै १० निर्वाचन क्षेत्रमा पनि रास्वपाले विजय हासिल गरेको छ। काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ २ मा सुनिल केसी, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ६ मा शिशिर खनाल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल र काठमाडौँ १० मा प्रदीप विष्ट विजयी भएका छन्। भक्तपुर १ मा रुकेश रञ्जित निर्वाचित भएका छन्।
त्यस्तै चितवन २ मा रवि लामिछाने, कास्की २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा वीना गुरुङ, स्याङ्जा १ मा धनञ्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा डा. लेखजङ्ग थापा, रुपन्देही ४ मा कन्हैया बनिया, बाँके १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार तथा कैलाली १ मा कोमल ज्ञवाली विजयी भएका छन्।
हालसम्म ३४ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
यसैबीच नेपाली कांग्रेसले चार निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। तेह्रथुम १ मा सन्तोष सुब्बा, मनाङ १ मा टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली तथा दैलेख १ मा बासना थापा विजयी भएका छन्। जारी मतगणनामा कांग्रेसका उम्मेदवार थप १० क्षेत्रमा अग्रस्थानमा रहेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व १ बाट विजयी भएका छन्। सो पार्टीका उम्मेदवार अन्य ११ क्षेत्रमा अग्रता लिइरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् भने एमाले उम्मेदवार १० क्षेत्रमा अगाडि रहेका छन्।
म्याग्दी १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो। यसबाहेक श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच क्षेत्रमा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक क्षेत्रमा अग्रता कायम गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया