काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ धकेलिँदै गर्दा रास्वपाको वर्चस्व कायमै देखिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कुल ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ, जसमा नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना र स्थापित दलहरूलाई निकै पछाडि छाड्दै ऐतिहासिक वर्चस्व कायम गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कुल गणना गरिएको मतको झन्डै आधा हिस्सा अर्थात् ४८.३१ प्रतिशत मत प्राप्त गरी सबैभन्दा ठुलो दल बन्ने निश्चित गरेको छ । घण्टी चुनाव चिन्हमा हालसम्म ४१ लाख ५१ हजार २५७ मत प्राप्त गरेको छ । जुन नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको निकै ठुलो जनमत हो ।
परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा (एमाले) को मत परिणाम भने यस पटक निकै खुम्चिएको पाइएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले जम्मा १६.१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९६६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले १३.६६ प्रतिशतका साथ ११ लाख ७३ हजार ५६१ मत मात्रै जोड्न सफल भएको छ ।
अन्य दलहरूको प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीले ७.०९ प्रतिशत मतका साथ ६ लाख ९ हजार २०८ मत प्राप्त गरेको छ । नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३.५० प्रतिशत अर्थात् ३ लाख १ हजार १२९ मत प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता थ्रेसहोल्ड पार गर्ने देखिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२८ प्रतिशतका साथ २ लाख ८२ हजार ५५ मत प्राप्त गरी छैटौँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया