सुर्खेत। कर्णाली प्रदेशमा यो पटक विशेषगरी चार पक्षीय चुनावी प्रतिस्पर्धा भयो । पुराना तीन राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच प्रतिस्पर्धा भएको छ ।
यसअघिका चुनावमा पुराना तीन दलहरूबिच हुने प्रतिस्पर्धामा यो पटक रास्वपा सामेल मात्र भएन, १२ मध्ये एउटा सिट नै जित्न सफल बन्यो ।
सुर्खेत, दैलेख र सल्यानमा त दोस्रो नम्बरमा लागि प्रतिस्पर्धामा आयो । यहाँ विगतमा तेस्रो, चौथो नम्बरमा राप्रपा, नेमकिपा जस्ता दलहरू मत ल्याउँथे, तर यो पटक उक्त स्थानमा रास्वपा आएको छ । चार पक्षीय प्रतिस्पर्धाका क्रममा कतिपय उम्मेदवार यस्ता पनि देखिए, जसले १०० मत पनि ल्याउन सकेनन् ।
प्रदेशभर प्रतिस्पर्धामा आएका १३८ उम्मेदवारमध्ये ३६ जना उम्मेदवारले १०० मत ल्याउन सकेका छैनन् ।
जाजरकोटमा ११ जना उम्मेदवार रहेकामा ५ जनाले १०० मत पनि ल्याउन सकेनन् ।
उज्यालो नेपालका कर्णबहादुर नेपालीले ६७, राष्ट्रिय जनमोर्चाका रत्न खड्काले ५५, प्रलोपाका मेघबहादुर ओलीले ३८, नेमकिपाका धनीराम जैसीले २५ र मंगोल नेशनल अर्गनाइजेशनका कमान बुढाले जम्मा ९ मत पाए ।
सल्यानमा १४ जना उम्मेदवार रहेकोमा १०० मत कटाउन नसक्ने उम्मेदवार सङ्ख्या ४ रहेको छ । नेमकिपाका उम्मेदवारले यहाँ ६६ मत मात्रै पाएका छन् ।
९ जना उम्मेदवार रहेको डोल्पामा ३ जनाले मात्रै १०० मत कटाएका छन् । १०० मत नकटाउनेमा राप्रपाका हरि डाँगी (९२), स्वतन्त्र ओमेन्द्र ओली (५४), प्रलोपाका विकास बुढा (२१), उज्यालो नेपालका दिलबहादुर विष्ट (११) र मितेरी पार्टीका जुनु भण्डारी (२) रहेका छन् । मुगुमा ७ मध्ये प्रलोपाका ऐटन कुमाल मल्लले २२ मत मात्रै पाए भने जुम्लामा विप्लव माओवादीका बिर्ख शाहीले ७१, जनता पार्टीका रनील विक्रम शाहीले ४३, स्वतन्त्र उम्मेदवार भक्त रावलले १४ मत मात्रै पाए ।
कालिकोटमा दुई जना स्वतन्त्र उम्मेदवारले पनि १०० मत ल्याउन सकेनन् । दैलेख १ मा जनमोर्चाका नरबहादुर सिंहले ९१, लोगबहादुर बोगटी (२९) र आम जनताकी मेना श्रेष्ठले १६ मत पाएकी छिन् ।
यस्तै दैलेख २ मा पनि ३ जनाले ५० त पनि कटाउन सकेनन् । यस्तै सुर्खेत १ मा २, सुर्खेत २ मा ७ जना उम्मेदवारले १०० मत कटाएनन् ।
यस्तै रुकुम पश्चिममा ४ जनाले १०० मत कटाएका छैनन् ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया