काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
बुधबार उनले निर्वाचन आयोगमा चुनावी खर्चको विस्तृत विवरण बुझाएका हुन्।
शंकर पोखरेलले पेश गरेको विवरणअनुसार मतदाता नामावली खरिदमा ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। यस्तै सवारी साधन प्रयोगमा ३ लाख ५० हजार र सवारी इन्धनमा ३ लाख रुपैयाँ खर्च भएको छ। इन्धन खर्चमा घोडा प्रयोग गर्दा लाग्ने दानासमेत समावेश गरिएको जनाइएको छ।
त्यस्तै प्रचार–प्रसार सामग्रीमा १ लाख ५० हजार, ढुवानी खर्चमा १ लाख ५० हजार, गोष्ठी तथा अन्तरक्रियामा १ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ। अन्य प्रचार–प्रसार तथा छापा र विद्युतीय माध्यमतर्फ २ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यसैगरी कार्यालय सञ्चालनमा १ लाख ५० हजार, प्रतिनिधि परिचालनमा १ लाख तथा विविध शीर्षकमा १ लाख ५० हजार रुपैयाँ खर्च गरिएको पोखरेलले जनाएका छन्।
निर्वाचन कानुनअनुसार प्रत्येक उम्मेदवारले चुनावमा गरेको खर्चको विवरण निर्वाचन आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार उम्मेदवारहरूले क्रमशः आफ्नो खर्च विवरण आयोगमा पेश गरिरहेका छन्।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया