काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानको ड्रोन तथा मिसाइल आक्रमण मा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानको आक्रमणका क्रममा १५ नेपाली सामान्य घाइते भएको जानकारी दिए। उनका अनुसार एक जना अझै उपचाररत भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
मध्यपूर्व क्षेत्रमा इजरायल–अमेरिका र इरानबीच आक्रमण–प्रत्याक्रमणको स्थिति जारी रहँदा खाडी तथा पश्चिम एसियाका विभिन्न देशमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्ष्य गर्दै इरानले ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ।
यसै क्रममा यूएईमा भएको ड्रोन आक्रमणमा गोरखाका विवेक श्रेष्ठको मृत्यु भएको थियो। उनको शव नेपाल ल्याएर अन्त्येष्टि समेत गरिसकिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मृतक श्रेष्ठका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन यूएईस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको छ।
मन्त्रालयले यूएईसहित अन्य प्रभावित क्षेत्रमा रहेका नेपालीहरू हाल सुरक्षित रहेको पनि जनाएको छ।
याे पनि:
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया