एजेन्सी। मध्यपूर्वमा द्वन्द्व झन् चर्किँदै जाँदा इजरायलले लेबननमा नयाँ चरणको सैन्य कारबाही सुरु गरेको छ।

इजरायली सेनाले लेबननस्थित हेजबुल्लाहका ठेगानाहरूलाई लक्षित गर्दै आक्रमण थालेपछि खाडी क्षेत्रमा पानीजहाजमाथि हुने हमलाका घटना पनि बढ्दै गएको खबरहरू आएका छन्।

advertisement

पर्सियन गल्फस्थित बासरा बन्दरगाह नजिक दुई विदेशी तेल ट्यांकरमा विस्फोट भएको जानकारी प्राप्त भएको छ।

इराकी अधिकारीहरूका अनुसार उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने केहीलाई उद्धार गरिएको र अन्यको खोजीकार्य जारी रहेको छ।

यस घटनापछि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले इरानी राष्ट्रपति मसूद पेजेस्किआनसँग कुरा गर्दै आफ्नो भूमिमा भएको आक्रमण अस्वीकार्य भएको बताएका छन्।

उनले इराकको भूमि कुनै पनि पक्षले इरानमाथि आक्रमण गर्न प्रयोग गर्न नपाउने स्पष्ट पारेका छन्।

यसैबीच स्ट्रेट अफ हर्मुज क्षेत्रमा अज्ञात स्रोतबाट भएको आक्रमणमा तीन व्यावसायिक जहाज क्षतिग्रस्त भएका छन्।

तीमध्ये एक जहाज भारततर्फ जाँदै गरेको भारतीय अधिकारीहरूले बताएका छन्। भारतले उक्त घटनाको कडा निन्दा गरेको छ।

स्ट्रेट अफ हर्मुज विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ।

यही क्षेत्रमा बढ्दो असुरक्षाका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि प्रभाव देखिन थालेको छ।

इजरायलले लेबननमा सुरु गरेको नयाँ आक्रमणलाई आफ्नो देशमाथि गरिएको क्षेप्यास्त्र प्रहारको जवाफ भएको जनाएको छ।

यता संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरबले पनि सम्भावित आक्रमणको जोखिमका बीच सुरक्षात्मक कदमहरू तीव्र बनाएका छन्।

कतारले केही ड्रोन रोकेको जनाएको छ भने साउदी अरबले १८ वटा ड्रोन निष्क्रिय पारिएको दाबी गरेको छ।

मध्यपूर्वमा बढ्दो तनावले पर्यटन र ऊर्जा क्षेत्रमा ठूलो असर पारिरहेको छ।

वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिलका अनुसार इरानसँगको युद्धका कारण क्षेत्रीय पर्यटन उद्योगले दैनिक करिब ६० करोड अमेरिकी डलर बराबरको नोक्सानी बेहोर्नुपरेको छ।

युद्धको असर तेल बजारमा पनि देखिएको छ। एशियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब ६.५ प्रतिशतले बढेर प्रतिब्यारेल ९७.९३ डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य पनि ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यसअघि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य राष्ट्रहरूले बजार स्थिर राख्न ठूलो परिमाणमा तेल भण्डार बजारमा ल्याउने निर्णय गरेका थिए।

आईईएका अनुसार करिब ४० करोड ब्यारेल तेल बजारमा पठाइनेछ, जसको झन्डै आधा हिस्सा अमेरिकाले उपलब्ध गराउने जनाएको छ।

यता इरानले स्ट्रेट अफ हर्मुजबाट तेल बोकेका ट्यांकरको आवतजावत रोक्ने चेतावनी दिँदै आएको छ।

इरानले यस्तो अवस्था आएमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ।

 

यो पनि:

रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com