काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई दलको नेता चयन गर्न पार्टीभित्र आन्तरिक अनौपचारिक रूपमा छलफल भइरहेको जनाएको छ ।
प्रवक्ता मनिष झाले चाँडै केन्द्रीय समिति बैठक बसेर विधान संशोधन गरी शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको बताए ।
आइतबार सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता झाले भने– ‘रास्वपा संसदीय दलको नेता चयनका लागि विधान संशोधनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिको बैठक कुर्नुपर्छ’, उनले भने– ‘आन्तरिक र अनौपचारिक रूपमा हामीले त्यसबारेमा छलफल गरिरहेका छौँ ।’
दलको नेताबारे निर्णय गर्न प्रक्रियागत कुराहरू पुरा गर्नुपर्ने र अहिले त्यो प्रक्रिया पुरा गर्न पार्टीका केही नेताको उपस्थिति अनिवार्य रहेको पनि रास्वपाले जनाएको छ । ‘यो विषय प्रक्रियागत रूपमा अघि बढाउन केही नेताहरूको उपस्थितिको प्रतीक्षामा रहेको हुनाले र नेताहरू स्वास्थ्य अवस्थाका कारण पर्खनुपर्ने भएकाले कुरिरहेका छौँ’, झाले भने– ‘सहमतिमा हामी जिम्मेवार छौ र प्रतिबद्धता बिर्सेका छैनौ, जसले केही तलमाथि होला कि भन्ने आशङ्का नहोस् ।’
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा गएको थियो ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया