काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट सांसद बन्ने २० जनाको नाम टुंगो लगाएको छ।
आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो। पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकले सिफारिस भएका नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार समावेशी सिद्धान्तअनुसार आदिवासी जनजाति र खसआर्यबाट ६/६ जना, थारु, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एक–एक जना गरी विभिन्न क्लष्टर मिलाएर कुल २० जनाको नाम पठाइनेछ।
तीमध्ये १५ जना महिला अनिवार्य रूपमा समावेश गरिने उनले बताए। निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाएको मतको आधारमा सांसदको कोटा निर्धारण गरी सोहीअनुसार नाम पठाउन दलहरूलाई निर्देशन दिएको थियो।
कांग्रेसले आयोगमा बुझाइने नामहरू आयोगले नै औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ। साथै, प्रवक्ता चालिसेले आगामी केन्द्रीय समिति बैठकले निर्वाचन परिणामको समग्र समीक्षा गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया