गोरखा । जिल्लाको चुमनुब्री-७ छेक्या लेकमा रहेको छ वटा गोठ क्षतिग्रस्त भएको छ। गत भदौमा याक, चौँरी गाउँ आसपास झारेपछि बन्द रहेको गोठ वनमान्छे (यति)ले नष्ट गरेको स्थानीयवासीले दाबी गरेका छन्।
छेक्या लेक पाँचहजार मिटर उचाइमा तिब्बतको सिमानामा रहेको छ। लेक पसेको घोँडा खोज्दै गएका गाउँका एक पुरुषले गोठ क्षतिग्रस्त भएको खबर ल्याएपछि स्थानीय चार जना गोठ सम्हाल्न सोमबार छेक्या लेक पुगेका थिए।
‘पाङ्दुङको कर्मा घ्याल्जेन घोँडा खोज्दै एक हप्ताअघि छेक्या गएको रहेछ। अनि उसले गोठ सबै भत्काएर सामान भताभुंग पारेको देखेको रहेछ’, चुमनुब्री-७ बुर्जी गाउँका छिरिङ फुर्बाले भने, ‘अनि म, रितार फुञ्जो, लोप्साङ सेराप र छिरिङ पाल्जोर त्यहाँ पुग्यौँ। छवटा गोठकोचाहिँ ढोका फुटाएको रहेछ। एउटा गोठकोचाहिँ छाना नै फुटाएर भित्र पसेर चामल सबै खाएछ। पछिलाई हुन्छ भनेर गोठमा जतन गरेर राखेको खान मिल्ने कुरा सबै खाएछ। दिप्चे, ताप्के, ठेकी, भाडाँकुरा सबै कुनै भित्रै, कुनै बाहिर ल्याएर फुटाएको रहेछ।’
छेक्या पुग्न स्थानीयवासीलाई घोँडसवारमा एकदिन लाग्छ। यस्तो विध्वंस वनमान्छे(यति)ले नै गरेको उनीहरूको दाबी छ।
‘हामीले किन वनमान्छेले नै यस्तो गरेको भनेको भने, चामल खाएर चहुरमा चामलै दिसा गरेको छ। हिउँमा हिँडेको पाइला हेर्दा मान्छेकै पाइताला जस्तो एकहात लामो देखिन्छ। औँलापट्टिको चौडाइ करिब एक बित्ताको छ’, छिरिङ फुर्बा भन्छन्, ‘हाम्रा बाउबाजेले वनमान्छे ठ्याक्कै यस्तै हुन्छ भन्थे। अहिले ठ्याक्कै मिलेको छ।’ आफूले थाहा पाएदेखि यस्तो घटना पहिलो पटक देखेको उनले बताए ।
गोठमा राखेको दाल, चामल, चिया, कफी, चिनी कोकलगायत खानमिल्ने जति सबै सामान खाएको, खान नमिल्ने लुगाहरू, ड्रमहरू फुटाएर क्षति गरेको आफूलाई गाउँलेले भनेको लामागाउँका प्रमुख लामा पासाङफुञ्जो लामाले बताए।
पैताला हेर्दा यतिको अनुमान गरिएको उनको भनाइ छ। यतिबेला लेकमा कोही पनि नजाने भएकाले वनमान्छे (यति)ले क्षति गरेको अनुमान गरिएको उनको भनाइ छ।
ग्याल्पो ल्होसार मानिसकेपछि छेकम्पारका नौ वटा टोलका बासिन्दा चैततिर याक, चौँरी लिएर छेक्या र बाजुको लेकमा गोठमा बस्न जान्छन्। ‘चैत, वैशाख, जेठ, असार र साउन महिनाभरि गोठ लेकमै हुन्छ’, अर्का छिरिङ लामा भन्छन्, ‘भदौमा गहुँ, जौ, फापर काटेपछि गोठ गाउँ वरिपरिको बारीमा ल्याउने चलन छ। गोठालाहरू वेशी झरेपछि माथिको गोठ भत्काएछ।’
त्यहाँको पाँचवटा गोठमा गोठाला बस्थे त्यसैले ती गोठहरूमा गोठालाहरूको दैनिक उपभोग्य सामानहरू थिए। दुईवटा गोठमा यार्सागुम्बा टिप्ने सिजनमा मात्र गाउँलेहरू बस्ने गर्थे।
ती दुईवटा गोठमा सामान थिएन। अब फागुन चैत लागेपछि गोठमा जान डरमर्नु भएको स्थानीयबासीको भनाइ छ।
प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया