काठमाडाैं । भारतीय संगीत क्षेत्रकी चर्चित तथा बहुमुखी प्रतिभाकी धनी गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ।

मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो आशा भोसलेको निधन भएको हो। उनका छोरा आनन्द भोसलेले निधनको पुष्टि गरेका छन्। उनको अन्त्येष्टि सोमबार गरिने परिवारले जनाएको छ।

advertisement

मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। केही महिनादेखि स्वास्थ्य कमजोर रहँदै आएको र शनिबार राति अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो।

सन् १९३३ मा महाराष्ट्रको सांगलीमा प्रतिष्ठित मङ्गेशकर परिवारमा जन्मिएकी आशा भोसलेले ९ वर्षको उमेरदेखि नै व्यावसायिक गायन यात्रा सुरु गरेकी थिइन्। उनले सन् १९४३ मा पहिलो पटक चलचित्रका लागि गीत रेकर्ड गराएकी थिइन्।

आफ्नी दिदी लता मंगेशकरसँगै उनले दशकौंसम्म भारतीय पार्श्व गायन क्षेत्रमा प्रभुत्व जमाइन्। १९५० को दशकसम्म बलिउडमा सशक्त उपस्थिति बनाइसकेकी उनले करिब आठ दशक लामो सांगीतिक यात्रामा हजारौं गीतमा स्वर दिएकी छन्। उनले नेपाली भाषामा पनि उल्लेख्य संख्यामा गीत गाएकी थिइन्।

सुरुवाती चरणमा ‘क्याबरेट’ तथा नृत्यप्रधान गीतका लागि परिचित रहेकी उनले पछि गजल, शास्त्रीय तथा विविध शैलीमा आफ्नो क्षमता विस्तार गरिन्। विशेषतः उमराव जानजस्ता चलचित्रका गीतहरू आज पनि कालजयी मानिन्छन्।

उनले सात पटक ‘फिल्मफेयर उत्कृष्ट महिला पार्श्व गायिका’ अवार्ड जितेकी थिइन्। ‘दिल चीज क्या है’ (उमराव जान) र ‘मेरा कुछ सामान’ (इजाजत) का लागि उनले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरेकी थिइन्।

व्यक्तिगत जीवनमा पनि उनले धेरै उतारचढाव भोगिन्। १६ वर्षको उमेरमा परिवारको इच्छाविपरीत उनले गणपतराव भोसलेसँग विवाह गरेकी थिइन्। पारिवारिक समस्याका कारण सन् १९६० मा तीन सन्तानसहित अलग भएपछि उनले पुनः सांगीतिक यात्रालाई निरन्तरता दिइन्।

पछि सन् १९८० मा उनले प्रसिद्ध संगीतकार आर.डी. बर्मनसँग विवाह गरिन्। बर्मनको सन् १९९४ मा निधन भएको थियो। पछिल्ला वर्षहरूमा उनी आफ्नी नातिनी जनाई भोसलेसँग बस्दै आएकी थिइन्।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com