काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद र स्वकीय सचिवहरूबाट उठाउने लेवी रकममा परिमार्जन गरेको छ ।
सोमबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सचिवालयको लेवी सम्बन्धी निर्णय अनुमोदन गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ, मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, स्वकीय सचिवहरूले मासिक २ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने भएको छ ।
यसअघि संसदीय दलको बैठकले मन्त्रीहरूको लेवी १८ हजार र सांसदहरूको १६ हजार ५ सय रुपैयाँ तोकेको थियो ।
केन्द्रीय समितिले सांसदको लेवी केही घटाएर १५ हजार कायम गरेको छ भने स्वकीय सचिवबाट पनि २ हजार रुपैयाँ लेवी उठाउने नयाँ व्यवस्था गरेको हो ।
रास्वपाले पार्टी सञ्चालन तथा संगठनात्मक कामका लागि सांसद, मन्त्री र स्वकीय सचिवहरूबाट नियमित लेवी उठाउने गरेको छ ।
नयाँ परिमार्जित लेवी तुरुन्तै लागू हुने बताइएको छ ।
यो निर्णयसँगै पार्टीले आर्थिक अनुशासन कायम गर्ने र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया