काठमाडौं। प्रतिनिधिसभाको काम कारबाहीलाई अझ बढी व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउने उद्देश्यका साथ प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ। लामो समयको गृहकार्य र सरोकारवालाहरूसँगको व्यापक परामर्शपछि नियमावली मस्यौदा समितिले यसलाई अन्तिम रूप दिएको हो।
प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो। समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल सदस्य रहेका छन्।
नयाँ नियमावलीमा संसदको प्रभावकारिता बढाउन र सांसदहरूको उत्तरदायित्वलाई सुनिश्चित गर्न विभिन्न नयाँ प्रावधानहरू समावेश गरिएको छ।
संसद बैठकमा सांसदहरूको उपस्थितिलाई अझ कसिलो बनाउने व्यवस्था गरिएको छ। विद्युतीय हाजिरी प्रणालीलाई अनिवार्य गर्दै बैठकको समयमा सांसदहरूको उपस्थितिको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने प्रावधान राखिएको छ।
शून्य समय र विशेष समयमा सांसदहरूले उठाउने विषयहरूको उचित सम्बोधन र रेकर्ड राख्ने व्यवस्थालाई थप बलियो बनाइएको छ। सदनमा उठेका जनसरोकारका विषयहरूमा सम्बन्धित मन्त्रालयले दिनुपर्ने जवाफको समयसीमा पनि स्पष्ट पारिएको छ।
नियमावलीको मस्यौदाले संसदीय समितिहरूलाई थप सक्रिय र नतिजामुखी बनाउन खोजेको छ। विधेयकहरूलाई समितिमा लामो समयसम्म अल्झाएर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न निश्चित समयसीमाको व्यवस्था गरिएको छ, जसले गर्दा संसद्को विधायिकी कार्यक्षमतामा वृद्धि हुने विश्वास लिइएको छ।
यसका साथै, सांसदहरूको आचारसंहितालाई समेत थप कसिलो बनाउँदै सदनको गरिमा बढाउन मस्यौदामा कतिपय नयाँ र व्यावहारिक प्रावधानहरू राखिएका छन्, जसले सांसदहरूको उपस्थितिलाई समेत पारदर्शी बनाउनेछ।तैयार भएको यो मस्यौदा अब प्रतिनिधिसभाको पूर्ण बैठकमा पेस हुनेछ।
सभामा मस्यौदामाथि थप छलफल हुने र सांसदहरूबाट प्राप्त संशोधन तथा सुझावहरूलाई समावेश गरेर नियमावली पारित गरिनेछ। नयाँ नियमावली पारित भएसँगै प्रतिनिधिसभाको आगामी अधिवेशन सोही नियमावलीअनुसार सञ्चालन हुनेछ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया