काठमाडौं । मुलुकका उद्योगी–व्यवसायीका तीन प्रमुख छाता संगठनहरूले सरकारले तत्काल लगानीमैत्री वातावरण निर्माण नगरे देशको अर्थतन्त्र संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल वाणिज्य संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा, प्रवर्द्धन र विश्वास कायम राख्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

advertisement

नयाँ सरकार गठनसँगै अर्थतन्त्रले गति लिने र लगानीको वातावरण सुधार हुने अपेक्षा गरे पनि पछिल्ला गतिविधिहरूले निजी क्षेत्र निराश भएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “देशको आर्थिक विकास, रोजगारी सिर्जना र राजस्व संकलनमा महत्वपूर्ण योगदान दिँदै आएको निजी क्षेत्रलाई निराश बनाउने कुनै पनि कदमले मुलुकलाई आर्थिक संकटतर्फ धकेल्न सक्छ।”

तीनै संस्थाले लगानीकर्ताको मनोबल कमजोर हुँदा देशको समग्र अर्थतन्त्रका विभिन्न क्षेत्रमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्।

उनीहरूका अनुसार लगानी घटेमा सरकारी राजस्वको स्रोत कमजोर हुन सक्छ, नयाँ रोजगारीका अवसर सिर्जना हुन सक्दैनन्, आपूर्ति प्रणालीमा अवरोध आउन सक्छ र बैंकिङ प्रणाली तथा पूर्वाधार विकाससमेत प्रभावित हुन सक्छ।

निजी क्षेत्रले सरकारलाई आर्थिक स्थायित्व कायम गर्न, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न र विश्वासयोग्य वातावरण बनाउन आग्रह गरेको छ। उनीहरूले लगानीमैत्री नीति, कानुन र व्यवहार अपरिहार्य रहेको उल्लेख गरेका छन्।

पछिल्ला दिनहरूमा देखिएको आर्थिक सुस्तता र निजी क्षेत्रले भोगिरहेका समस्याको समाधानका लागि सरकारले तत्काल ठोस र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता तीनै संस्थाले जोड दिएका छन्।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com