काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्तीका कारण प्रभावित भएका विद्यार्थीहरूलाई नजिकका उपयुक्त विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बस्ती स्थानान्तरणबाट असर परेका विद्यार्थीहरूको सुरक्षा, पढाइ निरन्तरता र सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका हुन् ।
उक्त निर्देशनअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बस्ती स्थानान्तरणका क्रममा विद्यार्थीहरूको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालयहरूको समायोजन तथा आवश्यक समन्वयलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
केन्द्रले सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई सहज पहुँच हुने विद्यालयमा भर्ना गराउन आवश्यक सहजीकरण गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
त्यस्तै, आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म सुरक्षित रूपमा पुग्ने व्यवस्था मिलाउन र विद्यालय नै प्रभावित भएका स्थानमा वैकल्पिक प्रबन्ध गर्न समेत निर्देशन दिइएको छ ।
मन्त्रालयले सुकुम्बासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित कुनै समस्या, गुनासो वा सुझाव भए स्थानीय तहमार्फत केन्द्रमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया