कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप तीव्र बन्दै गएको छ।

हालसम्म प्रदेशका करिब १५ प्रतिशत वन क्षेत्र आगलागीको चपेटामा परिसकेको जनाइएको छ।

advertisement

विशेषगरी चुरे क्षेत्रका वनमा डढेलोको प्रभाव बढी देखिएको छ।

प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार चुरे क्षेत्रको भौगोलिक विकटता, भिरालो भूभाग र सडक सञ्जालको अभावले आगो नियन्त्रण गर्न कठिनाइ भइरहेको छ।

“कतिपय स्थानमा पुग्नै जोखिमपूर्ण छ, केही ठाउँमा पुग्नै सकिँदैन,” उनले बताए।

उनका अनुसार मैदानी क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूह र वन कर्मचारीको सक्रियताले डढेलो नियन्त्रण अपेक्षाकृत सहज हुने गरेको छ।

तर चुरे क्षेत्रमा वन सुरक्षाकर्मी र कर्मचारीलाई पैदल हिँडेर पुग्नुपर्ने भएकाले सानो आगो पनि ठूलो डढेलोमा परिणत हुने जोखिम बढेको छ।

वन क्षेत्रमा आगलागी हुनुमा मानवीय गतिविधि मुख्य कारण रहेको बताइएको छ।

गोठालाले हरियो घाँस उमार्ने उद्देश्यले आगो लगाउने, च्याउ टिप्ने क्रममा आगो बाल्ने, खेतबारीमा गहुँका नल पोल्ने तथा सरसफाइका क्रममा लगाइएको आगो वनतर्फ फैलिने घटनाले डढेलो निम्त्याउने गरेको छ।

यसका साथै जलवायु परिवर्तन र ‘एल निनो’ प्रभावले पनि जोखिम बढाएको वन निर्देशनालयले जनाएको छ।

तापक्रम बढ्दै जाँदा वन क्षेत्रको चिस्यान घट्ने, सुख्खापन बढ्ने र सानो लापरवाहीले पनि ठूलो आगलागी हुन सक्ने अवस्था सिर्जना भएको छ।

डढेलोका कारण वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै जडीबुटी, घाँस, काठ लगायत वन पैदावारमा क्षति पुगेको छ।

यसले वनमा निर्भर स्थानीय समुदायको आयआर्जन र दैनिक जीवनमा समेत असर पारेको छ।

यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने विगतका वर्षको तुलनामा यस वर्ष डढेलो केही नियन्त्रणमै रहेको निकुञ्ज प्रशासनले जनाएको छ।

तर सामुदायिक वन क्षेत्रमा भने जोखिम बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com