काठमाडौं। संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।
त्रिभुवन विश्वविद्यालयको घण्टाघरदेखि टी.यू गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। उनीहरूले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको र यसले नागरिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गर्ने भन्दै तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन्।
आन्दोलनरत विद्यार्थीहरूले थप अन्य मागहरू पनि अघि सारेका छन्। उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूमा देखिएको ब्यारेकीकरणको अभ्यास अन्त्य गर्न तथा शैक्षिक क्षेत्रमा मेरिटोक्रेसी (योग्यता प्रणाली) प्रभावकारी रूपमा लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
त्यसैगरी, विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुटलाई यथावत् कायम राख्नुपर्ने, साथै विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्ध र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय पनि फिर्ता लिनुपर्ने उनीहरूको माग छ।
विद्यार्थीहरूले मार्चपासमार्फत सरकारको निर्णयप्रति आफ्नो असहमति स्पष्ट रूपमा प्रस्तुत गर्दै माग सम्बोधन गर्न दबाब दिएका छन्।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया