एजेन्सी । मुम्बईबाट एउटा स्तब्ध पार्ने र डरलाग्दो खबर बाहिर आएको छ । खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु भएको छ ।
रिपोर्टअनुसार, परिवारले साँझको समयमा पहिले बिरयानी खाएका थिए। त्यसपछि घरमै रहेको खरबुजा खाएपछि केही घण्टाभित्रै उनीहरूलाई लगातार बान्ता र पखाला सुरु भएको थियो। अवस्था गम्भीर बन्दै गएपछि सबैलाई अस्पताल पुर्याइए पनि चिकित्सकहरूले कसैलाई पनि बचाउन नसकेको जनाइएको छ।
यो घटनापछि गर्मीयाममा अत्यधिक रुचाइने फल खरबुजा सुरक्षित हो कि होइन भन्ने प्रश्न फेरि उठेको छ।
विशेषज्ञहरूका अनुसार समस्या खरबुजामा नभई यसको भण्डारण, सरसफाइ र प्रयोग विधिमा हुने गर्छ। जमिनमा फल्ने भएकाले खरबुजाको बाहिरी सतह माटो, फोहोर पानी तथा विभिन्न कीटाणुसँग सम्पर्कमा आउन सक्छ। यसमा साल्मोनेला, ई–कोलाई र लिस्टेरिया जस्ता हानिकारक ब्याक्टेरिया बस्न सक्ने जोखिम हुन्छ।
यदि फललाई राम्रोसँग नधोई वा फोहोर चक्कुले काटियो भने ती ब्याक्टेरिया भित्री भागसम्म प्रवेश गर्न सक्छन्। खरबुजामा पानीको मात्रा धेरै हुने भएकाले काटिसकेपछि तातो वातावरणमा ब्याक्टेरिया छिटो फैलिने सम्भावना हुन्छ।
डाक्टरहरूका अनुसार यस्तो खाद्य विषाक्तताका लक्षणमा लगातार बान्ता, पखाला, पेट दुखाइ, ज्वरो र अत्यधिक कमजोरी देखिन्छ। फरीदाबादस्थित अमृता अस्पतालका वरिष्ठ परामर्शदाता डा. मोहित शर्माले फलफूल सामान्यतया सुरक्षित भए पनि गलत तरिकाले काट्ने र भण्डारण गर्दा खतरनाक बन्न सक्ने बताएका छन्। विशेषगरी बालबालिका, वृद्ध, गर्भवती महिला तथा कमजोर प्रतिरक्षा भएका व्यक्तिमा यसको असर बढी गम्भीर हुन सक्छ।
विशेषज्ञहरूले खरबुजा सुरक्षित रूपमा उपभोग गर्नका लागि बाहिरी भाग राम्ररी धुने, सडक किनारमा काटिएका फल नखाने, काटिसकेपछि तुरुन्त फ्रिजमा राख्ने र २४–४८ घण्टाभित्र उपभोग गर्ने सुझाव दिएका छन्। साथै, सधैं सफा चक्कु र काट्ने बोर्ड प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया