काठमाडौं। नेपाली कांग्रेसका निर्वतमान उपसभापति पूर्णबहादुर खड्काले डाकेको भेलामा सहभागी नेताहरूले पार्टी एकता कायम राख्न सभापति गगनकुमार थापाले पहल नगरेको गुनासो गरेका छन्।
धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बसेको शेरबहादुर देउवा समूहका नेताहरूको भेलामा सहभागीहरूले पार्टी एकताका लागि सभापति थापाको भूमिका अर्थपूर्ण हुने भए पनि अहिलेसम्म कुनै ठोस कदम नचालेको भन्दै प्रश्न उठाएका हुन्।
नेता भीमसेनदास प्रधानले सभापति गगनकुमार थापालाई सबैको सभापति हुने कि केवल एउटा गुटको मात्र हुने भन्ने समय आएको बताए।
‘अहिले वैधानिक सभापति गगन थापा नै हो। सबैको सभापति हुने कि एउटा खेमाको मात्रै हुने भन्ने हो,’ छलफलपछि सञ्चारकर्मीहरूसँग उनले भने।
त्यस्तै नेता रामहरि खतिवडाले पार्टीभित्रको विवाद सर्वोच्च अदालतले निरुपण गरिसकेपछि अब १५औँ महाधिवेशनलाई कसरी वृहत एकतासहित अघि बढाउने भन्ने विषयमा सभापतिले पहल गर्नुपर्ने बताए।
‘अब वृहत एकता गरेर १५औँ महाधिवेशन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘कांग्रेसलाई बलियो बनाउने पहल सभापतिले नै गर्नुपर्छ भन्ने कुरा आएको छ।’
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया