एजेन्सी । दक्षिणी लेबनानमा इजरायली सेना को हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको लेबनान स्वास्थ्य मन्त्रालय ले जनाएको छ। युद्धविराम जारी रहेकै अवस्थामा पनि आक्रमण भएको बताइएको छ।
मन्त्रालयका अनुसार हब्बुस क्षेत्रमा गरिएको आक्रमणमा एक बालक र दुई महिलासहित आठ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन्। त्यस्तै, जररिया क्षेत्रमा भएको अर्को आक्रमणमा दुई महिलासहित चार जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।
यसैगरी, टायर नजिकैको तटीय क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र सात जना घाइते भएको जनाइएको छ।
हब्बुस क्षेत्रमा यसअघि नै इजरायलले निकासी चेतावनी जारी गरेको थियो। लेबनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार चेतावनी दिएको एक घण्टाभित्रै इजरायली लडाकु विमानहरूले आक्रमण सुरु गरेका थिए।
इजरायली सेनाले इरान समर्थित हेजबुल्लाह ले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफी कारबाही स्वरूप आक्रमण गरेको जनाएको छ। साथै स्थानीय बासिन्दालाई सहरबाट कम्तीमा एक किलोमिटर टाढा सुरक्षित खुला स्थानमा जान निर्देशन दिएको थियो।
एनएनएका अनुसार टायरसहित दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण र गोलीबारीसमेत भएको छ।
इजरायल र हेजबुल्लाह बीच लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्न अप्रिल १७ मा युद्धविराम गरिएको भए पनि त्यसपछि पनि आक्रमण जारी रहेको जनाइएको छ।
युद्धविराम सम्झौताले सम्भावित खतराका अवस्थामा इजरायललाई लक्षित कारबाही गर्ने अधिकार दिएको उल्लेख गरिएको छ। यसै क्रममा दक्षिणी सहर शामामा विस्फोट गरिनुका साथै यारुन क्षेत्रमा मठ, धार्मिक स्थल र विद्यालयहरू ध्वस्त पारिएको एनएनएले जनाएको छ।
यसबीच अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्ट महासङ्घ का उपमहासचिव जेभियर क्यास्टेलानोस ले लेबनानी रेड क्रसका स्वयंसेवकहरू उद्धार कार्यमा जाँदा आफ्नो ज्यान जोखिममा राखेर काम गर्न बाध्य भएको बताएका छन्।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया