काठमाडौं । नेपालमा इनर्जी ड्रिंकको बजार थप प्रतिस्पर्धी बन्दै गएको बेला सीजी रिलायन्स बेभरेज प्रा. लि. ले ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक गरेको छ। २५० एमएल क्यानमा उपलब्ध यो इनर्जी ड्रीङ्कको मूल्य रु. ८० निर्धारण गरिएको कम्पनीले जनाएको छ।
नयाँ उत्पादनसँगै कम्पनीले आफ्नो ‘क्याम्पा’ ब्रान्डअन्तर्गतको पोर्टफोलियो विस्तार गर्दै इनर्जी ड्रिंकको उपस्थितिलाई थप मजबुत बनाएको छ। यसअघि क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज बजारमा ल्याइसकेको कम्पनीले अब इनर्जी ड्रिंक सेग्मेन्टमा पनि आक्रामक प्रवेश गरेको हो।
कम्पनीका अनुसार ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार तयार गरिएको पेय पदार्थ हो, जसले स्वाद र ऊर्जा दुवैमा उपभोक्तालाई सन्तुष्टि दिने लक्ष्य राखेको छ। उत्पादनलाई सुलभ मूल्यमा उपलब्ध गराइएको दाबी कम्पनीको छ।
उक्त पेय देशभरका खुद्रा पसलहरूमा उपलब्ध भइसकेको छ। कम्पनीले आफ्नो बलियो वितरण सञ्जालमार्फत बजार विस्तार गरिरहेको जनाएको छ। उक्त उत्पादन मकवानपुरको मनहरीस्थित बोटलिङ प्लान्टमा उत्पादन भइरहेको छ, जसले गुणस्तर र आपूर्तिको निरन्तरता सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।
प्रारम्भिक उपभोक्ता प्रतिक्रियाअनुसार यस पेय पदार्थको स्वाद, क्याफिन प्रभाव र तत्काल ऊर्जा दिने क्षमताप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीले जनाएको छ।
सीजी रिलायन्स बेभरेज प्रा. लि. चौधरी ग्रुप (सीजी) र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) बीचको संयुक्त लगानी हो। चौधरी ग्रुप नेपालकै अग्रणी व्यावसायिक समूह हो भने आरसिपिएल, रिलायन्स इन्डस्ट्रिज लिमिटेडअन्तर्गतको एफएमसिजी व्यवसाय हो।
आरसिपिएलले सन् २०२२ मा ‘क्याम्पा’ ब्रान्ड अधिग्रहण गरी २०२३ मा भारतमा पुनः सार्वजनिक गरेको थियो। त्यसयता उक्त ब्रान्डले भारतसहित यूएई, ओमान, बहराइन र नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।
चौधरी ग्रुपअन्तर्गत २०० भन्दा बढी कम्पनी र २६० भन्दा बढी ब्रान्ड सञ्चालनमा छन्। खाद्य तथा पेय पदार्थदेखि वित्त, शिक्षा, आतिथ्य, सूचना प्रविधि र पूर्वाधारसम्म विविध क्षेत्रमा यसको लगानी फैलिएको छ।
नेपालमा क्याम्पा ब्रान्डका उत्पादनहरूको उत्पादन र वितरण पनि सीजीले नै गर्दै आएको छ।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार












प्रतिक्रिया