काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा प्रहरीको निर्देशन अटेर गरी सवारी चलाउने चालक तथा सवारीधनीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले देशभरका प्रशासनिक निकायलाई परिपत्र गर्दै सम्भावित प्राकृतिक विपद् र सडक जोखिमको अवस्थालाई ध्यानमा राखी आवश्यक स्थानमा सवारी आवागमन तत्काल रोक्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो।

advertisement

यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिमपूर्ण सडकमा आवागमन बन्द गरिए पनि त्यसको अवज्ञा गर्ने चालकहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने प्राधिकरणको स्पष्ट निर्देशन छ।

यो कदम विशेषगरी काभ्रेको रोशी खोलामा सोमबार साँझ आएको बाढीपछि लिइएको हो। उक्त घटनामा प्रहरीको चेतावनीलाई बेवास्ता गर्दै पाँचवटा सवारी साधन बाढी प्रभावित क्षेत्रमा प्रवेश गर्दा करिब ८९ जना यात्रुको ज्यान जोखिममा परेको थियो। यद्यपि सुरक्षा निकायको संयुक्त टोलीले मध्यरातमा ती यात्रुहरूको उद्धार गरेको थियो।

प्राधिकरणका अनुसार केही चालकहरूको लापरवाहीका कारण ठूलो मानवीय क्षति हुन सक्ने अवस्था बनेकाले यस्तो कडा नीति आवश्यक भएको हो।

अबदेखि स्थानीय प्रशासनलाई सडक अवस्था र मौसम पूर्वानुमानका आधारमा जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन रोक्ने अधिकार दिइएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना र चेतावनीलाई अनिवार्य रूपमा पालना गराउन पनि प्राधिकरणले जोड दिएको छ।

मनसुनजन्य विपद् बढ्दै गएको अवस्थामा यात्रु र सवारी सुरक्षालाई गम्भीर रूपमा लिन र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशनको पूर्ण पालना गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com