मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि जारी युक्रेन द्वन्द्व अब अन्त्यतर्फ उन्मुख भएको आफूले महसुस गरेको बताएका छन् ।
द्वितीय विश्वयुद्धमा नाजी जर्मनीमाथि प्राप्त विजयको सम्झनामा आयोजित ‘विजय दिवस’ समारोहपछि क्रेम्लिनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्तिको आशा व्यक्त गरेका हुन् ।
तर उनले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि एउटा कडा सर्त अघि सारेका छन् ।
पुटिनका अनुसार दुई नेताबीचको भेट तब मात्र सम्भव हुनेछ, जब स्थायी शान्ति सम्झौतामा पहिले नै पूर्ण सहमति जुटिसकेको हुनेछ ।
यस वर्षको विजय दिवस परेड विगतका वर्षको तुलनामा निकै सीमित देखिएको छ ।
सामान्यतया रुसले आफ्नो सैन्य शक्ति प्रदर्शनका लागि ट्याङ्क र अत्याधुनिक सैन्य उपकरणको प्रदर्शन गर्ने गरे पनि यसपटक रेड स्क्वायरमा त्यस्तो दृश्य देखिएन ।
परेडमा उपस्थित बीबीसीका संवाददाताका अनुसार कार्यक्रममा विदेशी सञ्चारमाध्यम तथा पत्रकारको उपस्थिति अत्यन्त न्यून थियो ।
रुसी सञ्चारमाध्यमले विदेशी पत्रकारको उपस्थितिलाई उदारताको रूपमा चित्रण गर्न खोजे पनि धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई कार्यक्रममा सहभागी हुन अनुमति दिइएको थिएन ।
युद्धकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा रुस र युक्रेनबीच तीनदिने युद्धविरामको घोषणा गरिएको थियो ।
यस अवधिमा दुवै देशले एक–एक हजार युद्धबन्दी साटासाट गर्ने योजना समेत बनाएका छन् ।
तर युद्धविरामको पहिलो दिनदेखि नै दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
रुसी गणतन्त्र चेचेन्या तथा अन्य क्षेत्रमा युक्रेनी मानवरहित विमान आक्रमणबाट केही व्यक्ति घाइते भएका छन् भने युक्रेनी क्षेत्रमा पनि रुसी आक्रमणबाट मानवीय क्षति भएको विवरण सार्वजनिक भएका छन् ।
अन्तर्राष्ट्रिय कूटनीतिमा अमेरिकाले अझै पनि मध्यस्थताको प्रयास जारी राखेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीच वार्ता गराउन वासिङ्टन तयार रहेको बताएका छन् ।
तर उनले वार्तामा कुनै ठोस प्रगति नभए अमेरिकाले आफ्नो समय खेर नफाल्ने चेतावनी समेत दिएका छन् ।
हाल अमेरिकाको ध्यान मध्यपूर्वको तनावतर्फ समेत केन्द्रित भइरहेका बेला युक्रेन सङ्कट समाधानका लागि निर्णायक पहलको प्रतीक्षा भइरहेको छ ।
रुसको पूर्णस्तरीय आक्रमणका कारण लाखौँ मानिसको ज्यान जानुका साथै दुवै देशको अर्थतन्त्र र पूर्वाधारमा गम्भीर क्षति पुगेको अवस्थामा पुटिनको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया