काठमाडौं। तमिलगा वेत्री कडगम (टीभीके) का अध्यक्ष सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन्।
यससँगै राज्यमा विगत करिब ६ दशकदेखि डिएमके र एआइएडिएमकेबीच आलोपालो सत्ता चल्दै आएको परम्परा अन्त्य भएको छ।
राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईमा आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराए।
शनिबार २३४ सदस्यीय विधानसभामा १२० जना निर्वाचित सदस्यको समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनका लागि औपचारिक रूपमा आमन्त्रण गरिएको थियो।
विजयले बिहान १० बजेपछि चेन्नईस्थित नेहरू खेल मैदानमा शपथ ग्रहण गरेका हुन्।
उनीसँगै टीभीकेका वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिए।
विजयले भारतीय राष्ट्रिय काङ्ग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन्।
राज्यपालले उनलाई मे १३ भित्र विश्वासको मत लिन निर्देशन दिएका छन्।
मन्त्री पदको शपथ लिने अन्य नौ जनामा बुसी एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेन्गोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी.के. प्रभु र एस कीर्तना रहेका छन्।
नवगठित मन्त्रिपरिषद्मा चेन्नई क्षेत्रबाट पाँच जना, पश्चिमी क्षेत्रबाट दुई जना र दक्षिणी क्षेत्रबाट तीन जना मन्त्री सहभागी भएका छन्।
मन्त्रिपरिषद्मा एक जना महिला र एक जना दलित समुदायका प्रतिनिधि पनि समावेश छन्।
हालै सम्पन्न विधानसभा चुनावमा टीभीकेले १०८ सिट जितेको थियो।
तर विजय दुई सिटबाट निर्वाचित भएकाले एक सिट खाली गर्ने व्यवस्था अनुसार व्यवहारिक रूपमा १०७ सिट कायम भएको मानिएको छ।
टीभीकेलाई काङ्ग्रेसका ५, भारतीय कम्युनिस्ट पार्टी र मार्क्सवादी कम्युनिस्ट पार्टीका २–२, भिसीके र आइयुएमएलका २–२ सदस्यको समर्थन प्राप्त भएको छ।
यसरी गठबन्धनले १२० सदस्यीय समर्थन जुटाएको हो।
फेब्रुअरी २०२४ मा स्थापना भएको टीभीकेले पहिलो चुनावमै ठूलो सफलता हासिल गर्दै राज्यको राजनीतिमा नयाँ शक्ति बनेको छ।
विजयले आफ्नो दललाई धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएका छन्।
राजनीतिमा आउनुअघि विजय लामो समय दक्षिण भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
पछि उनले सक्रिय राजनीति सुरु गर्दै टीभीकेको स्थापना गरेका थिए, जसले छोटो समयमा नै ठूलो जनसमर्थन हासिल गरेको छ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया