तेहरान। मोज्तबा खामेनी ले इरानका वरिष्ठ सैन्य कमान्डर मेजर जनरल अब्दुल्लाहीसँग भेट गर्दै देशको सुरक्षा अवस्था र सैन्य तयारीबारे जानकारी लिएका छन्।

पछिल्ला केही दिनभित्र भएको यो दोस्रो प्रत्यक्ष भेटवार्ता भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

advertisement

इरानको अर्ध–सरकारी समाचार संस्था फर्स समाचार एजेन्सीका अनुसार खामेनीले सैन्य मुख्यालयका कमान्डरसँग भेट गरी सशस्त्र बलको तयारी, सुरक्षा रणनीति र क्षेत्रीय परिस्थितिबारे छलफल गरेका थिए।

यद्यपि, भेटवार्तासम्बन्धी कुनै तस्बिर वा दृश्य सामग्री सार्वजनिक गरिएको छैन।

गत मार्च महिनामा अमेरिकी–इजरायली आक्रमणमा पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनी को मृत्यु भएपछि मोज्तबा खामेनी सर्वोच्च नेताको भूमिकामा आएका हुन्।

त्यसयता उनी सार्वजनिक रूपमा कमै देखिएकाले उनको अवस्था र गतिविधिबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।

भेटका क्रममा मेजर जनरल अब्दुल्लाहीले इरानी सेना पूर्ण सतर्क अवस्थामा रहेको बताएका छन्।

उनका अनुसार अमेरिकी तथा इजरायली गतिविधिलाई प्रतिकार गर्न आवश्यक सैन्य उपकरण र तयारी पूरा गरिएको छ।

उनले इरानमाथि कुनै आक्रमण वा हस्तक्षेप भए कडा र शक्तिशाली जवाफ दिइने चेतावनी पनि दिएका छन्।

फर्स समाचार एजेन्सीका अनुसार सर्वोच्च नेता खामेनीले इरानले शत्रुका विभिन्न योजनाहरू विफल बनाएको दाबी गर्दै सेना र सुरक्षा निकायलाई अझ सशक्त रूपमा उभिन निर्देशन दिएका छन्।

यसअघि मसुद पेजेश्कियन ले पनि आफूले खामेनीसँग लामो समय छलफल गरेको जानकारी दिएका थिए।

नयाँ सर्वोच्च नेता बनेपछि खामेनीसँग उच्च तहका अधिकारीको भएको यो पहिलो प्रमुख भेटका रूपमा त्यसलाई हेरिएको छ।

यसैबीच अमेरिकी सञ्चार संस्था सिएनएनले अमेरिकी गुप्तचर स्रोतलाई उद्धृत गर्दै मोज्तबा खामेनी इरानको युद्ध रणनीति तथा अमेरिकासँग जारी वार्ताको दिशा निर्धारणमा प्रभावशाली भूमिकामा रहेको जनाएको छ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com