काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा सच्चा कम्युनिस्ट शक्तिहरूबीच एकताको आवश्यकता अझ बढेको बताएका छन् ।
काठमाडौंमा आयोजित २६औँ निर्मल लामा स्मृति सभा लाई सम्बोधन गर्दै उनले विश्वभर कम्युनिस्ट आन्दोलन बहस, विभाजन र पुनःएकताको प्रक्रियाबाट अघि बढिरहेको उल्लेख गरे । नेपालमा पनि त्यस्तै राजनीतिक अवस्था देखिएको उनको भनाइ थियो ।
पुष्पकमल दाहाल प्रचण्ड ले देशमा साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप बढ्दै गएको आरोप लगाउँदै कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न योजनाबद्ध गतिविधि भइरहेको दाबी गरे । उनले पछिल्लो निर्वाचनतर्फ संकेत गर्दै कम्युनिस्ट शक्तिलाई सखाप पार्ने रणनीति अन्तर्गत “पर्दाभित्रका खेल” भएको आरोप लगाए ।
उनका अनुसार कम्युनिस्ट आन्दोलनविरुद्ध देशी तथा विदेशी शक्तिहरू सक्रिय छन् र त्यसको अनुसन्धान भविष्यमा सतहमा आउनेछ ।
हाल नेपालमा वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण, पुनःएकता र नयाँ राजनीतिक समीकरणको चर्चा भइरहेका बेला प्रचण्डको अभिव्यक्तिलाई आगामी वाम एकताको संकेतका रूपमा पनि हेरिएको छ ।
कार्यक्रममा उनले स्वर्गीय निर्मल लामा को योगदान स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । साथै राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र जनअधिकार रक्षाका लागि कम्युनिस्ट शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार












प्रतिक्रिया