काठमाडौं। इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएका छन्।
विदेशी सञ्चारमाध्यमहरूमा प्रकाशित पछिल्ला विवरणहरूले उनको अवस्था रहस्यमय बनेको दाबी गरेका छन्।
अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नल ले मोज्तबा खामेनीको अवस्थाबारे प्रश्न उठाउँदै उनी इरानी सत्ता संयन्त्रकै प्रत्यक्ष सम्पर्कभन्दा बाहिर रहेको उल्लेख गरेको छ।
गत फागुनमा अमेरिकी–इजरायली संयुक्त सैन्य आक्रमणमा उनका पिता तथा पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि मोज्तबा सार्वजनिक रूपमा कतै देखिएका छैनन्।
यस घटनापछि इरानको भावी नेतृत्व र सत्ता सन्तुलनबारे गम्भीर चासो बढेको छ।
विभिन्न अन्तर्राष्ट्रिय विश्लेषणहरूमा मोज्तबाको अवस्थालाई लिएर दुई प्रमुख आशंका व्यक्त गरिएका छन्।
पहिलो अनुमानअनुसार सैन्य आक्रमणका क्रममा उनी गम्भीर रूपमा घाइते भएका थिए र हाल गोप्य स्थानमा उपचाररत छन्।
अनुहार र शरीरका अन्य भागमा गहिरो चोट लागेको दाबी समेत गरिएको छ।
तर लामो समयसम्म कुनै भिडियो, तस्बिर वा अडियो सन्देश सार्वजनिक नभएकाले उनी जीवित छन् भन्ने विषयमै शंका बढ्दै गएको छ।
दोस्रो आशंकामा मोज्तबाको मृत्यु भइसकेको हुन सक्ने र इरानी सत्ताले देशभित्र अस्थिरता फैलिन नदिन उक्त तथ्य लुकाइरहेको हुन सक्ने उल्लेख गरिएको छ।
कतिपय सुरक्षा विश्लेषकहरूले सेनाभित्र शक्ति संघर्ष र सम्भावित विद्रोह रोक्न यस्ता सूचना गोप्य राखिएको हुन सक्ने बताएका छन्।
इरानको आन्तरिक राजनीति पनि पछिल्लो समय थप जटिल बन्दै गएको संकेत देखिएका छन्।
राष्ट्रपति मसूद पेजेस्कियानले सर्वोच्च नेतासँग भेटका लागि पटक–पटक प्रयास गरे पनि सफल नभएको विवरण सार्वजनिक भएको छ।
यसले नेतृत्व तहमा असामान्य अवस्था रहेको अनुमानलाई बल पुर्याएको छ।
यता, इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले प्रशासनिक तथा सुरक्षा संरचनामा आफ्नो प्रभाव झन् विस्तार गरिरहेको बताइएको छ।
मोज्तबाको अवस्थाबारे स्पष्ट जानकारी नआउँदा आईआरजीसीभित्रै शक्ति केन्द्रहरू सक्रिय हुन थालेको चर्चा समेत भइरहेको छ।
विश्लेषकहरूले यदि मोज्तबाको मृत्यु भएको पुष्टि भयो भने इरान दशकौँयताकै ठूलो राजनीतिक सङ्कटमा फस्न सक्ने चेतावनी दिएका छन्।
उत्तराधिकारी चयनको विषयलाई लिएर विभिन्न शक्ति समूहबीच टकराव र हिंसात्मक संघर्ष हुन सक्ने जोखिम औँल्याइएको छ।
इरानी सरकारी अधिकारीहरूले भने मोज्तबा खामेनी पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको दाबी गर्दै आएका छन्।
सुरक्षा संवेदनशीलताका कारण मात्रै उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएको सरकारको भनाइ छ।
तर पछिल्ला दिनमा सरकारी सञ्चारमाध्यमले प्रसारण गरेका केही दृश्यहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार गरिएको हुन सक्ने आशंका उठेपछि सरकारी दाबीप्रति थप अविश्वास बढेको छ।
हालसम्म मोज्तबा खामेनीको वास्तविक अवस्थाबारे स्वतन्त्र र विश्वसनीय पुष्टि हुन सकेको छैन।
तर उनको लामो अनुपस्थितिले इरानको सत्ता संरचना, क्षेत्रीय सुरक्षा र मध्यपूर्वको राजनीतिक भविष्यबारे विश्वभर नयाँ चासो र चिन्ता उत्पन्न गरेको छ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया