काठमाडौं। विपक्षी दलहरूले संसद्को भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै सभामुख डोलप्रसाद अर्यालको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा विपक्षी दलका प्रमुख सचेतक तथा सचेतकहरूले संसद्लाई प्रभावहीन बनाउने गरी कार्यकारी निकाय हाबी भएको आरोप लगाएका हुन्।

advertisement

विपक्षी नेताहरूले सरकार संसद्प्रति उत्तरदायी बन्नुपर्ने लोकतान्त्रिक अभ्यास कमजोर पार्ने गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

उनीहरूले संसद्लाई केवल औपचारिकता पूरा गर्ने थलोमा सीमित पार्ने प्रयास भइरहेको बताएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले अधिकांश निर्णय कार्यकारी तहबाट एकल रूपमा अघि बढाइरहेको आरोप लगाए।

उनका अनुसार संसद्को प्रभावकारी भूमिका संकुचित बनाउने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत हो।

उनले भने, “संसद्लाई केवल देखावटी संरचनाजस्तो बनाउने प्रयास भइरहेको छ।

जनप्रतिनिधिमूलक संस्थाको भूमिका कमजोर पारेर सबै अधिकार कार्यकारीले आफ्नो हातमा केन्द्रित गर्न खोजेको देखिन्छ।”

विपक्षी दलहरूले संसद् बैठक सञ्चालनको कार्यसूचीप्रति पनि असन्तुष्टि जनाएका छन्।

उनीहरूले आजको बैठकमा विपक्षीलाई बोल्ने समय नदिइएको तथा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अत्यन्त सीमित बनाइएको भन्दै आपत्ति उठाएका हुन्।

प्रमुख सचेतक महरले विपक्षी दलले आकस्मिक समय माग गरेको जानकारी दिँदै समय नपाए वैकल्पिक प्रक्रियाबाट भए पनि आफ्ना धारणा संसद्मा राख्ने बताए।

उनले भने, “हामीले आकस्मिक समय माग गरेका छौँ। त्यो नदिइए विशेष समयमार्फत बोल्ने प्रयास गर्छौँ।

यदि त्यो पनि रोकियो भने विरोधस्वरूप बैठकमै उभिएर असन्तुष्टि जनाउँछौँ।”

यद्यपि विपक्षी दलहरूले तत्काल संसद् बहिष्कार वा अवरोधको रणनीति भने नअपनाउने स्पष्ट पारेका छन्।

उनीहरूले संसदीय मर्यादा कायम राख्दै लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना असन्तुष्टि प्रस्तुत गर्ने बताएका छन्।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com