काठमाडौं। संघीय संसद्को वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ।
प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि नै विपक्षी दलहरूले सरकारको कार्यशैलीविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने रणनीति तय गरेका छन्।
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो २ बजे बस्ने कार्यतालिका रहेको छ। बैठक सुरु हुनासाथ विपक्षी दलहरूले सरकारका पछिल्ला निर्णय र गतिविधिमाथि कडा विरोध जनाउने तयारी गरेका हुन्।
विपक्षी दलहरूको मुख्य निशानामा संवैधानिक परिषद्सम्बन्धी गतिविधि, सरकारले जारी गरेका अध्यादेश तथा सुकुमबासी व्यवस्थापनसम्बन्धी कदमहरू रहेका छन्।
यी विषयमा सरकार एकतर्फी ढंगले अघि बढेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद्मा समन्वित आवाज उठाउने तयारी गरेका छन्।
विपक्षी नेताहरूका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपासहितका दलहरू सरकारको कार्यशैलीप्रति असन्तुष्ट छन् र संसद् बैठकको सुरुवातमै साझा धारणा प्रस्तुत गर्ने समझदारी बनेको छ।
एक विपक्षी सांसदका अनुसार सरकारको निर्णय प्रक्रियाले संसद्को भूमिकालाई कमजोर बनाएको भन्दै त्यसविरुद्ध सशक्त प्रतिवाद गरिनेछ।
यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममाथि भने अवरोध नगर्ने विपक्षीको तयारी रहेको बताइएको छ।
आज संसद्का लगातार तीन वटा बैठक बस्ने कार्यसूची छ।
त्यसैअनुसार राष्ट्रपति पौडेलले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
विपक्षी दलहरूले संसद्को मर्यादा कायम राख्दै लोकतान्त्रिक ढंगबाट असहमति प्रकट गर्ने बताएका छन्।
तर सरकारका विवादास्पद निर्णयबारे स्पष्ट जवाफ नआए आगामी दिनमा आन्दोलनका कार्यक्रम थप कडा हुन सक्ने संकेत पनि उनीहरूले दिएका छन्।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया