काठमाडौं। नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकारले “नयाँ सोच” को नाममा संसद्लाई कमजोर बनाउँदै कार्यपालिकाको स्वेच्छाचारिता लाद्ने प्रयास गरेको आरोप लगाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सरकारका अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियाप्रति कडा आपत्ति जनाइन्।
अर्यालले लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्ने भए पनि सार्वभौम संसदभन्दा माथि हुन नसक्ने स्पष्ट गरिन्।
“लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ, तर संसदभन्दा शक्तिशाली हुन सक्दैन,” उनले भनिन्।
उनले सुकुमबासी बस्ती हटाउने क्रममा विकल्पबिनै डोजर चलाइएको भन्दै सरकारको कदमलाई ‘डोजर आतंक’ को संज्ञा दिइन्।
साथै न्यायपालिकामाथि समेत प्रभाव जमाउने प्रयास भइरहेको हो कि भन्ने आशंका व्यक्त गर्दै प्रश्न उठाइन्।
उनको भनाइमा, राज्यका तीनै अंगबीचको शक्ति सन्तुलन कमजोर पार्ने कुनै पनि प्रयास लोकतन्त्रका लागि खतरनाक हुने चेतावनी समेटिएको थियो।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार












प्रतिक्रिया