काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिमाल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्रीको बैठकबाट बाहिरिएको घटनालाई ‘ अटेन्सन डाइभर्ट ’ गर्ने रणनीतिको रूपमा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई व्यंग्य गर्दै नीति तथा कार्यक्रममा उल्लेखनीय विषय नदेखिएपछि जनताको ध्यान अन्यत्र मोड्न प्रधानमन्त्रीबाटै असामान्य व्यवहार प्रदर्शन गरिएको दाबी गरेका हुन्।
रिमालले संसद्को दृश्यलाई संकेत गर्दै एकातर्फ राष्ट्रपति रामचन्द्र पौडेल ले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला अर्कोतर्फ प्रधानमन्त्रीले नै ‘वाकआउट’ गरेको घटनालाई अस्वाभाविक र अर्थपूर्ण रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार नीति तथा कार्यक्रममा प्रभावकारी एजेन्डा र स्पष्ट दिशा नदेखिएपछि त्यसबाट उत्पन्न हुने आलोचनाबाट बच्न ध्यान मोड्ने प्रयास गरिएको हो।
उनले सत्तापक्षलाई कटाक्ष गर्दै एउटा जाँचबुझ आयोग गठन गरेर राष्ट्रपतिले वाचन गरेको कार्यक्रम वास्तवमा कसको थियो भन्ने छानबिन गर्नुपर्ने सुझावसमेत दिएका छन्।
प्रधानमन्त्री स्वयंले सदन छाडेपछि उक्त कार्यक्रम सरकारकै हो भन्नेमा समेत प्रश्न उठेको उनको टिप्पणी छ।
रिमालले प्रधानमन्त्रीको व्यवहारले सरकारको नीति तथा कार्यक्रमप्रति सरकारभित्रै आत्मविश्वास नभएको सन्देश दिएको उल्लेख गर्दै भनेका छन्, “प्रधानमन्त्री आफैँले वाकआउट गरेपछि त्यो कार्यक्रम सरकारकै हो भन्ने आधार कहाँ रह्यो ?”
उनले नीति तथा कार्यक्रमको विषयवस्तुभन्दा प्रधानमन्त्रीको बाहिरिने घटनाले बढी चर्चा पाउनु सरकारकै असफल राजनीतिक व्यवस्थापनको परिणाम भएको दाबी गरेका छन्।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया