काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह अचानक संसद बैठक हलबाट बाहिरिएका थिए । प्रधानमन्त्री स्वयम्‌ले राष्ट्रपतिलाई हस्तान्तरण गरेको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला उनी बीचमै उठेर बाहिरिएपछि घटनाले राजनीतिक वृत्तमा व्यापक चर्चा र आलोचना जन्माएको छ ।

प्रधानमन्त्री किन बाहिरिए भन्नेबारे तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक नभए पनि राष्ट्रपति पौडेलले आफ्नो सम्बोधन भने निरन्तर जारी राखेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री शाह केही समयपछि संसद भवनबाट झण्डावाल गाडी चढेर सरकारी निवास बालुवाटार फर्किएका थिए ।

advertisement

संसद बैठकमा नीति तथा कार्यक्रम टेबुल गरिएपछि साँझ करिब ६ः२५ बजे प्रधानमन्त्री संसद परिसरबाट बाहिरिएको र करिब ६ः३५ बजे बालुवाटार पुगेको दाबी गरिएको छ । त्यसपछि बसेको संसद बैठकमा भने प्रधानमन्त्री उपस्थित नभएको बताइएको छ ।

प्रधानमन्त्री निकट स्रोतले राष्ट्रपति पौडेल निर्धारित समयभन्दा केही ढिलो संसद भवन पुगेकाले प्रधानमन्त्री बैठकबाट बाहिरिएको दाबी गरेको छ । स्रोतका अनुसार राष्ट्रपति तोकिएको समयभन्दा करिब ७ मिनेट ढिलो पुगेका थिए ।

तर, यदि सुरक्षाकर्मी वा सवारी व्यवस्थापनमा कमजोरीका कारण ढिलाइ भएको हो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठेको छ । राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक निकायका प्रमुखहरूको सवारी व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाली सेनासँग रहने गर्दछ भने नेपाल प्रहरी र सम्बन्धित सचिवालयले त्यसमा समन्वय गर्ने गर्छन् । हाल प्रधानमन्त्री शाह आफैंले रक्षा र गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।

यस घटनापछि संसदीय मर्यादा र राष्ट्र प्रमुखप्रतिको सम्मानबारे प्रश्न उठ्न थालेको छ । संसदभित्रै केही सांसदहरूले प्रधानमन्त्रीको व्यवहारलाई ‘अशोभनीय’ भन्दै आपत्ति जनाइसकेका छन् भने सामाजिक सञ्जालमा पनि आलोचना बढ्दो छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com