काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया अन्तर्गत सरकारले बिहीबार बस्ने संसद बैठकमा बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आज अर्थ समितिको बैठकमा यसबारे औपचारिक जानकारी गराएका हुन् । बैठकमा बोल्दै उनले संसदमा पेश हुने सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले राख्ने सुझावलाई अर्थ मन्त्रालयले आगामी बजेटमा मार्गदर्शनका रूपमा समावेश गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरै हदसम्म मेल खाने दाबी गरे। यद्यपि, बजेट निर्माणमा केही प्राविधिक कठिनाइ रहेको उनको भनाइ थियो।
उनले भने, “नयाँ सरकार गठन हुनुपूर्व नै योजना आयोगबाट बजेटको सिलिङ पठाइसकिएको हुनाले अहिले थप नयाँ कार्यक्रमका लागि ‘स्पेस’ केही कम छ।” यसका बाबजुद पनि अर्थ मन्त्रालयमा बजेटका योजनाहरू लिएर सांसदहरूको आउने क्रम भने निरन्तर रहेको उनले उल्लेख गरे।
प्रचलित ऐन अनुसार सरकारले बजेट सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिन अगावै बजेटका सिद्धान्त तथा प्राथमिकताहरू संसदमा प्रस्तुत गरी छलफल गराउनुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानलाई मध्यनजर गर्दै सरकारले बिहीबारको बैठकमा यसलाई कार्यसूचीमा राख्ने तयारी गरेको हो।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया