काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रति संवेदनशील र जिम्मेवार ढंगले सेवा प्रवाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आइजी कार्कीले समाजका कमजोर वर्गका नागरिकले आफ्ना समस्या लिखित रूपमा प्रस्तुत गर्न नसक्ने अवस्था हुने भएकाले प्रहरीले मौखिक गुनासाका आधारमा समेत निवेदन तयार गरी समाधान प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।

advertisement

उनले युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) को आर्थिक सहयोगमा निर्माण गरिएको सेवा केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई प्रभावकारी सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

आइजी कार्कीले प्रहरी कार्यालयमा मुद्दासँग असम्बन्धित व्यक्तिको प्रवेश नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै मेलमिलाप वा पञ्चायतबाट समाधान भइसकेका विषयलाई विचौलियाले पुनः विवादमा तान्ने प्रवृत्ति रोक्न प्रहरी सतर्क हुनुपर्ने बताए।

उनले पछिल्लो समय अपराधमा विज्ञान तथा प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै अपराध नियन्त्रणका लागि प्रहरी संगठनलाई पनि प्रविधिमैत्री बनाउनु आवश्यक रहेको धारणा राखे। “प्रविधिको प्रयोग गरेर गरिने अपराध नियन्त्रण गर्न अझ उन्नत प्रविधिको आवश्यकता पर्छ, उनले भने।

वीरगञ्ज देशको मुख्य प्रवेशद्वार तथा आर्थिक केन्द्र भएकाले यहाँको शान्ति सुरक्षा, सामाजिक सद्भाव र सुव्यवस्था कायम राख्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनले बताए। वीरगञ्जमा शान्ति सुरक्षामा असर परे त्यसको प्रभाव समग्र देशमा पर्ने उल्लेख गर्दै आइजी कार्कीले प्रहरीलाई नागरिकको साथ र सहयोग अपरिहार्य रहने बताए।

युएनओपिएसको करिब २ करोड ४३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अत्याधुनिक सेवा केन्द्र घरेलु हिंसा तथा सामाजिक अपराध नियन्त्रणदेखि ज्येष्ठ नागरिकका समस्या समाधानसम्म उपयोगी हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com