काठमाडौं। चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार द्विपक्षीय वार्ता भएको छ।

भेटअघि दुवै नेताले दिएको प्रारम्भिक सम्बोधनमा आपसी सम्बन्ध, सहकार्य र विश्व राजनीतिको भविष्यबारे महत्वपूर्ण धारणा राखेका छन्।

advertisement

अमेरिकी राष्ट्रपति ट्रम्पले सी जिनपिङसँगको भेटलाई सम्मानको विषय भएको बताएका छन्।

उनले आफू र सीबीच विगतदेखि नै राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै समस्या पर्दा दुवै नेताले प्रत्यक्ष संवादमार्फत समाधान खोज्ने गरेको बताए।

ट्रम्पले भने, “हाम्रो सम्बन्ध निकै राम्रो छ। समस्या आउँदा हामी तुरुन्तै संवाद गरेर समाधान निकाल्थ्यौँ।

म उहाँलाई फोन गर्थें, उहाँले मलाई फोन गर्नुहुन्थ्यो।”

उनले सी जिनपिङलाई “महान् नेता” को संज्ञा दिँदै चीन भ्रमणमा आफूले विश्वका उत्कृष्ट व्यापारिक नेतृत्वलाई साथमा ल्याएको बताए।

“आज यहाँ उपस्थित सबै व्यक्तिहरू तपाईंप्रति सम्मान प्रकट गर्न आएका हुन्,” ट्रम्पले भने।

उनले अमेरिका–चीन सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरे।

यता चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्ने धारणा राखे।

उनले दुवै देशले एकअर्काको समृद्धि र सफलतामा योगदान पुर्‍याउँदै नयाँ युगअनुसार सहकार्यको नयाँ ढाँचा विकास गर्नुपर्ने बताए।

सीले भने, “हामीले चीन–अमेरिका सम्बन्धको विशाल यात्रालाई सही दिशामा अघि बढाउनुपर्छ र सन् २०२६ लाई सम्बन्धको नयाँ अध्याय सुरु भएको ऐतिहासिक वर्ष बनाउनुपर्छ।”

उनले अमेरिकाको स्वतन्त्रताको २५०औँ वर्षका अवसरमा ट्रम्प र अमेरिकी जनतालाई शुभकामना पनि दिएका छन्।

विश्व तीव्र परिवर्तन र अस्थिर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सी जिनपिङले वर्तमान समयलाई विश्व इतिहासकै महत्वपूर्ण मोडको रूपमा व्याख्या गरे।

उनले चीन र अमेरिकाले प्रतिस्पर्धा र द्वन्द्वको पुरानो सोच त्यागेर सहकार्यको नयाँ उदाहरण प्रस्तुत गर्न सक्ने प्रश्न उठाए।

सीले भने, “के चीन र अमेरिकाले द्वन्द्वको पुरानो जालबाट बाहिर निस्केर नयाँ सम्बन्धको नमुना स्थापित गर्न सक्छन् ? के हामी मिलेर विश्वका चुनौतीहरूको सामना गर्न सक्छौँ ?”

उनले यी प्रश्नहरूको उत्तर दिनु दुवै राष्ट्रका नेताको ऐतिहासिक जिम्मेवारी भएको समेत बताए।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com