काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संविधान संशोधनलाई जनताले प्राप्त गरेका अधिकारको संरक्षण र विस्तारसँग जोड्दै अग्रगमनका लागि केन्द्रित गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले संविधान केवल कानुनी दस्तावेज मात्र नभई जनताको संघर्ष, रगत र पसिनाबाट निर्मित साझा सहमतिको ऐतिहासिक आधार भएको उल्लेख गरे ।

advertisement

नेम्वाङले संविधान संशोधन कुनै औपचारिक प्रक्रिया वा परिवर्तनका लागि मात्र नभई जनअधिकारको संरक्षण गर्दै देशलाई अग्रगमनतर्फ लैजाने उद्देश्यसहित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संविधान संशोधन केवल संशोधनका लागि होइन, जनताले प्राप्त गरेका अधिकारको संरक्षण गर्दै अग्रगमनका लागि हुनुपर्छ, पश्चगमनका लागि होइन ।’

उनका अनुसार संविधान केवल शब्दहरूको संग्रह नभई राष्ट्रिय एकता र साझा चेतनालाई जोड्ने महत्वपूर्ण दस्तावेज हो । उनले थपे, ‘संविधान अंकगणितको खेल होइन, यो राष्ट्रिय एकता र साझा भावनाको सेतु हो । बहुमतले मात्रै होइन, सहमतिले मात्र यसलाई दीर्घकालीन र स्थायी बनाउन सक्छ ।’

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै नेम्वाङले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्पष्ट दृष्टिकोण र ठोस कार्ययोजना नदेखिएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले परनिर्भरता बढ्दै गएकोप्रति असन्तुष्टि जनाउँदै भने, ‘परनिर्भरताको बोझ बोकेर देश गन्तव्यमा पुग्न सक्दैन । उत्पादन बिना केवल बजार र वितरणको सपना देख्नु मात्र पर्याप्त हुँदैन ।’

साथै उनले विकासको अर्थ केवल भौतिक संरचना मात्र नभई नागरिकको आत्मसम्मानसँग पनि जोडिएको उल्लेख गरे । ‘यदि समाजको कुनै वर्ग भोकै छ, अपमानित छ वा उपेक्षित छ भने ती ठूला संरचनाले अर्थ राख्दैनन्,’ उनले भने ।

नेम्वाङले प्रत्येक नागरिकले आफूलाई राज्यको हिस्सेदार महसुस गर्न सक्ने अवस्था निर्माण नभएसम्म विकास अधुरो रहने धारणा राखे ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com