सुर्खेत । नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा माथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गोप्य रूपमा प्रवेश गरेको आशंकापछि कांग्रेसले कारबाही प्रक्रिया अघि बढाएको छ।
शुक्रबार कांग्रेस जुम्लाले अध्यक्ष बुढालाई पत्र पठाउँदै स्पष्टीकरण माग गरेको हो। कार्यवाहक सभापति दीपकबहादुर शाहीले हस्ताक्षर गरेको पत्रमा बुढाले पार्टी परित्याग गरी अन्य दलमा आवद्ध भएको भन्ने चर्चा सार्वजनिक भएको उल्लेख गर्दै त्यसको यथार्थबारे स्पष्ट जवाफ मागिएको छ।
पत्रमा सामाजिक सञ्जाल वा पत्र प्राप्त भएको मितिले तीन दिनभित्र लिखित स्पष्टीकरणसहित पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
निर्धारित समयसीमाभित्र सन्तोषजनक जवाफ नआएमा पार्टीको विधान र नियमावलीअनुसार कारबाही अघि बढाइने चेतावनीसमेत कांग्रेसले दिएको छ।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया