काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्र राईले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति कडा असन्तुष्टि जनाउँदै त्यसलाई झुकाउन सक्षम रहेको दाबी गरेका छन्।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले सरकारले बहुमतको दम्भमा शासन चलाइरहेको आरोप लगाए। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यक परे सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।
उनले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा सरकार असफल भएको र युवालाई रोजगारी उपलब्ध गराउन नसकेको टिप्पणी गरे। साथै, नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा छलफल भइरहँदा प्रधानमन्त्री संसद्मा अनुपस्थित हुनु सरकारको गैरजिम्मेवारीपन भएको उनको भनाइ थियो।
राजेन्द्र राईले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने माथि समेत आलोचना गर्दै सत्ताको दबाबमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए।
सरकारले जनभावनाको कदर नगरेको र मुलुकलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाउँदै उनले यस्तो प्रवृत्तिविरुद्ध एमाले सशक्त रूपमा उभिने बताए। साथै, वर्तमान परिस्थितिले सरकारको कमजोरी प्रस्ट देखाइसकेको भन्दै अबको अवस्था लामो समय नटिक्ने उनको दाबी थियो।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया