काठमाडौं । रवि लामिछाने सहितलाई प्रतिवादी बनाइएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा कास्की जिल्ला अदालतले ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी अभियोग हटाउन सरकारलाई अनुमति दिएको छ । अदालतले अब मुद्दालाई ‘सहकारी ठगी’ को अभियोगमा मात्र अघि बढाउने आदेश जारी गरेको हो ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिल्ला सरकारी वकील कार्यालय, कास्कीले दायर गरेको अभियोगपत्र संशोधनसम्बन्धी निवेदन स्वीकार गर्दै यस्तो आदेश दिएको हो । सरकारी पक्षले मुद्दामा रहेका ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ का दाबी हटाएर मुख्य रूपमा ‘सहकारी ठगी’ अन्तर्गत मात्रै कारबाही अगाडि बढाउन माग गरेको थियो ।
गोविन्द अधिकारीसहितका पीडितहरूको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा जीतेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी तथा रवि लामिछानेलगायतलाई प्रतिवादी बनाइएको छ ।
अदालतले आदेशमा पीडित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै मुद्दाको मुख्य उद्देश्य भएको उल्लेख गरेको छ । आदेशमा भनिएको छ कि जाहेरवालाहरूले पनि आफ्नो बचत रकम शीघ्र फिर्ता पाउने अपेक्षा राखेकाले न्यायिक प्रक्रियालाई सोही दिशामा केन्द्रित गर्नुपर्ने देखिएको हो ।
अदालतका अनुसार ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी अभियोग कायम रहँदा मुद्दा थप जटिल बन्ने, मिलापत्रको सम्भावना कम हुने तथा बचतकर्ताले रकम फिर्ता पाउन लामो समय लाग्ने अवस्था देखिएकाले अभियोगपत्र संशोधन गर्न अनुमति दिइएको हो ।
यसअघि रवि लामिछानेको हकमा मात्र लागू गरिएको निर्णयलाई अदालतले अब अन्य प्रतिवादीहरूमा समेत समान रूपमा लागू हुने गरी सच्याएको जनाएको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया