काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अप्सना बानुले ‘जेनजी आन्दोलन’ मा सहभागी भएर पक्राउ परेका युवाहरूको रिहाइबारे सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने युवाहरूलाई जेलमा राखिएको भन्दै आपत्ति जनाइन् ।
सांसद अप्सना बानुले विगत ३५ वर्षदेखि देशलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध उभिएका युवाहरूले आखिर के अपराध गरे भनेर प्रश्न उठाइन् । उनका अनुसार आन्दोलनमा सहभागी भएर पक्राउ परेकामध्ये धेरैजना विद्यार्थी, परिवारको जिम्मेवारी बोकेका युवा तथा समाज परिवर्तनको सपना देखिरहेका नागरिक छन् ।
‘सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका युवाहरू अहिले विभिन्न जेलमा छन् । कोही कसैका छोरा हुन्, कोही परिवारका अभिभावक हुन्, त कोही उज्ज्वल भविष्यको खोजीमा अध्ययनरत विद्यार्थी,’ उनले भनिन् ।
बानुले पक्राउ परेकाहरूको मुद्दा कहिले टुंगिन्छ र उनीहरू कहिले रिहा हुन्छन् भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने बताइन् । उनले कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई छोड्ने वातावरण बनाउन पनि सरकारसँग माग गरिन् ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया