काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको स्पष्ट पारेका छन् । तलब वृद्धिको विषयमा सरकारको निर्णयबारे विभिन्न टिप्पणी र भ्रम फैलिएको भन्दै उनले सरकारले कुनै पनि प्रकारको भ्रम सिर्जना नगरेको बताएका हुन् ।
बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले कर्मचारीको तलब वृद्धि सम्बन्धी व्यवस्थामा कुनै अन्योल नरहेको उल्लेख गरे । “कर्मचारीको तलब २१ प्रतिशतले नै बढाइएको हो । सरकारले ढाँट्यो वा झुक्यायो भन्ने चर्चा भइरहेको छ, तर त्यसमा कुनै सत्यता छैन,” उनले भने ।
उनका अनुसार तलब वृद्धिको संरचनामा १० प्रतिशत आधारभूत तलबमा वृद्धि गरिएको छ भने थप १० प्रतिशत रकम कार्यसम्पादनसँग जोडेर उपलब्ध गराइने व्यवस्था गरिएको छ । यसबाहेक विगतदेखि दिइँदै आएको मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई यथावत् राखिएको उनले जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले कर्मचारी प्रशासनको कार्यशैलीमा सुधार ल्याउन सरकार केन्द्रित रहेको पनि बताए । उनका अनुसार निर्वाचन, अन्तर्राष्ट्रिय सम्मेलन वा विपद् व्यवस्थापनजस्ता विशेष परिस्थितिमा कर्मचारी संयन्त्रले उत्कृष्ट प्रदर्शन गर्ने गरे पनि दैनिक सेवा प्रवाहमा अपेक्षित परिणाम दिन नसकेको गुनासो व्यापक रूपमा उठ्दै आएको छ ।
यही अवस्थालाई परिवर्तन गर्न सरकारले नियमित प्रशासनिक कामकाजलाई पनि ‘मिसन मोड’ मा सञ्चालन गर्ने अवधारणा अघि सारेको उनले बताए । ‘हामीले कर्मचारी संयन्त्रलाई नतिजामुखी र जिम्मेवार बनाउने लक्ष्य राखेका छौँ । त्यसका लागि एकातर्फ जवाफदेहिता सुनिश्चित गर्ने र अर्कोतर्फ कार्यसम्पादनका आधारमा प्रोत्साहन प्रदान गर्ने नीति अवलम्बन गरिएको छ,’ उनले भने ।
हालका लागि सबै कर्मचारीलाई समान रूपमा तलब वृद्धि गरिएको भए पनि भविष्यमा कार्यसम्पादन मूल्याङ्कनलाई थप प्रभावकारी बनाउँदै प्रोत्साहन भत्ता वास्तविक उपलब्धि र नतिजासँग जोड्ने व्यवस्था लागू गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए । उनका अनुसार यसले सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया