रूपन्देही । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्ति दिएलगत्तै भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली सुस्तास्थित नेपाली भूभागमा प्रवेश गरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार आइतबार साँझ नेपाली क्षेत्रमा प्रवेश गरेको एसएसबीको टोलीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा अवरोध गरेको हो। भारतीय सुरक्षाकर्मीहरूले निर्माण कार्य रोक्न दबाब दिएपछि हालका लागि काम स्थगित गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिए।
उनका अनुसार तटबन्ध निर्माण भइरहेको स्थान भारतीय पक्षले दाबी गर्ने क्षेत्रभन्दा धेरै भित्र नेपाली भूमिमा पर्छ। त्यसका बाबजुद प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि करिब ४० देखि ५० जनाको संख्यामा भारतीय सुरक्षाकर्मी त्यहाँ पुगेका थिए र निर्माण कार्य रोक्न दबाब दिएका थिए।
नारायणी नदीको कटान तथा डुबानको उच्च जोखिममा रहेको सुस्ता क्षेत्रलाई संरक्षण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण भइरहेको छ।
गाउँपालिका अध्यक्ष उपाध्यायका अनुसार तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उक्त क्षेत्रको स्थलगत अवलोकन गरेपछि तटबन्ध निर्माणका लागि बजेट विनियोजन प्रक्रिया अघि बढाएका थिए। घिसिङले पदबाट राजीनामा दिनुभन्दा केही दिनअघि मात्रै यस आयोजनाका लागि बजेट सुनिश्चित गरिएको थियो।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया