काठमाडौं । विश्वप्रसिद्ध होटल कम्पनी म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अन्तर्राष्ट्रियस्तरका लक्जरी होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअनुसार काठमाडौंमा द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं स्थापना गरिनेछ।
यो सहमतिसँगै म्यारियटका विश्वविख्यात लक्जरी तथा प्रिमियम ब्रान्ड पहिलोपटक नेपाली बजारमा प्रवेश गर्ने भएका छन्। द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं उच्चस्तरीय पर्यटकका लागी आकर्षक गन्तव्य बन्ने अपेक्षा सहित सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएका जनाइएको छ।
सम्झौताले म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीचको दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउनुका साथै नेपालको हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। परियोजना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष बिनोद चौधरी, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीनबाहेक) अध्यक्ष राजीव मेनन तथा दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोटलगायतको उपस्थिति रहेको थियो।
नेपालको पर्यटनमा नयाँ अध्याय
सम्झौतापछि प्रतिक्रिया दिँदै म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त अध्यक्ष राजीव मेननले नेपालजस्तो उच्च सम्भावना भएको बजारमा विश्वस्तरीय हस्पिटालिटी सेवा विस्तार गर्न पाउँदा उत्साहित रहेको बताए।
उनले यी परियोजनाले नेपालको पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यस सहकार्यलाई नेपाल र दक्षिण एशियाको हस्पिटालिटी उद्योगलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे। उनले अन्तर्राष्ट्रिय ब्रान्ड र स्थानीय अनुभवको संयोजनमार्फत काठमाडौंलाई विश्वस्तरीय हस्पिटालिटी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
कस्तो हुनेछ रिट्ज-कार्लटन काठमाडौं ?
नेपालमा पहिलोपटक प्रवेश गर्न लागेको रिट्ज-कार्लटन ब्रान्डको होटल काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा निर्माण हुनेछ।
होटलमा ३० वटा लक्जरी सुइटसहित १५० कोठा रहनेछन्। पाँचवटा रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, रिट्ज-कार्लटन स्पा तथा १,१०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको अत्याधुनिक सम्मेलन तथा कार्यक्रम हल रहनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर दूरीमा रहने होटल ठमेल, नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ र पशुपतिनाथजस्ता प्रमुख सांस्कृतिक सम्पदास्थल नजिक अवस्थित हुनेछ।
वेलनेसमा केन्द्रित हुनेछ वेस्टिन काठमाडौं
वेस्टिन काठमाडौंमा १५० प्रिमियम कोठा तथा सुइट रहनेछन्। होटलमा तीनवटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा, रूफटप स्विमिङ पुल तथा ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको आधुनिक बैठक तथा बैंक्वेट सुविधा हुनेछ।
वेस्टिन ब्रान्डको विशेष ‘वेलनेस’ अवधारणाअनुसार यात्रुहरूको स्वास्थ्य, आराम र सन्तुलित जीवनशैलीलाई प्राथमिकतामा राखेर होटल सञ्चालन हुने बताइएको छ।
विस्तार हुँदै म्यारियट–सीजी साझेदारी
यो सम्झौता म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच विस्तार हुँदै गएको सहकार्यको पछिल्लो उपलब्धि हो। पछिल्ला दुई वर्षभित्र भारतमा ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटलसम्बन्धी सम्झौता सम्पन्न भइसकेका छन् भने ४३ शहरमा ५० होटल सञ्चालनमा आइसकेका छन्।
सीजी हस्पिटालिटीले फिलिपिन्स, माल्दिभ्स, श्रीलंका, केन्या, यूएई, अमेरिका लगायत १२ देशका १३० गन्तव्यमा २२० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ। कम्पनीले सन् २०३० सम्म आफ्नो पोर्टफोलियो ६०० होटल र ३० हजारभन्दा बढी ‘की’सम्म विस्तार गर्ने लक्ष्य लिएको छ।
हस्पिटालिटी क्षेत्रका जानकारहरूका अनुसार काठमाडौंमा रिट्ज-कार्लटन र वेस्टिनजस्ता विश्वप्रसिद्ध ब्रान्डको आगमनले नेपालको लक्जरी पर्यटन बजारलाई नयाँ स्तरमा पुर्याउने, उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने तथा अन्तर्राष्ट्रिय लगानीको विश्वास बढाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया