काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी आफ्नो विवादास्पद अभिव्यक्ति स्वयं उपस्थित भएर सच्याउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ स्पष्ट नगरेसम्म सदनको कामकारबाही सहज रूपमा अगाडि बढ्न नसक्ने धारणा व्यक्त गरे।
‘सीमा सम्बन्धमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको धारणा सच्याइनुपर्छ। यो विषय अरू मन्त्रीले स्पष्ट पारेर हुँदैन, प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्छ,’ राईले भने।
प्रधानमन्त्री शाहले हालै नेपाल–भारत सीमा सम्बन्धी प्रसंगमा नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर संसद् र राजनीतिक वृत्तमा बहस तथा विरोध भइरहेको छ।
प्रतिनिधिसभा सदस्य हर्कराज राईले राष्ट्रिय सीमाको सुरक्षा र संरक्षणलाई थप प्रभावकारी बनाउन नेपाली सेनालाई सीमाक्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए। सीमा सुरक्षाको विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया