सुर्खेत । सुर्खेतमा मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय सबीर बक्सको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोबाइल चोरीसम्बन्धी मुद्दामा पक्राउ परेका बक्स जेठ २७ गतेदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थिए। हिरासतमा रहेका क्रममा शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अपराह्न कर्णाली प्रदेश अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार उपचारकै क्रममा शनिबार बिहान ५ः३२ बजे अस्पतालले बक्सलाई मृत घोषणा गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक विशेषज्ञ चिकित्सक आउने प्रक्रिया चलिरहेको र पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको कारणबारे थप स्पष्ट हुने बताइएको छ।
प्रहरीका अनुसार मृतक यसअघि पनि चोरीसम्बन्धी घटनामा संलग्न रहेको अभिलेख छ भने उनी लागुऔषध प्रयोगकर्ता समेत रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया