धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईबाँधे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले ती कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ।
प्रहरीले टेम्पो भिरबाट खसाल्ने घटनामा प्रत्यक्ष संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जनाएको छ। घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान अघि बढाइएको हो।
गत शुक्रबार भीमदत्त राजमार्गअन्तर्गत गाईबाँधे क्षेत्रमा वन अतिक्रमण हटाउने अभियानका क्रममा एक महिलाले खुद्रा व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारीहरूले भिरतर्फ धकेलेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
घटनापछि चौतर्फी आलोचना बढेपछि डिभिजन वन कार्यालय धनगढीले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो धारणा सार्वजनिक गरेको थियो। कार्यालयले उक्त टेम्पो प्रयोगविहीन र कवाड अवस्थामा रहेको दाबी गर्दै त्यसलाई अस्थायी छाप्रोका रूपमा प्रयोग गरी वन क्षेत्र अतिक्रमण गरिएको जनाएको छ।
वन कार्यालयका अनुसार सम्बन्धित पक्षलाई पटक–पटक संरचना हटाउन आग्रह गरिए पनि अटेर गरिएकाले अतिक्रमण हटाउने क्रममा बल प्रयोग गर्नुपरेको थियो। सोही क्रममा भिरालो भू–बनावट र सन्तुलन नमिल्दा टेम्पो अनियन्त्रित भई भिरबाट खसेको कार्यालयको दाबी छ।
यद्यपि घटनाको भिडियो सार्वजनिक भएपछि वन कर्मचारीहरूको भूमिकामाथि प्रश्न उठेको छ। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन सम्बन्धित कर्मचारीहरूसँग सोधपुछ गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया