मण्डला थियटर, थापागाउँमा २०८३ जेठ २२ गतेदेखि असार ७ गतेसम्म मञ्चन भइरहेको नाटक ‘लाहुरी भैँसी’ प्रसिद्ध कथाकार रमेश विकल द्वारा २०१६ सालतिर लेखिएको चर्चित कथामा आधारित छ। उक्त कथालाई संयोग गुरागाईं ले नाट्यरूपान्तरण गर्नुभएको हो भने निर्देशन अनुप न्यौपानेले गर्नुभएको छ।
नाटकको केन्द्रमा छन् लुखुरेको परिवार — एक गरिब, श्रमजीवी र संघर्षशील पात्र। आफ्नो जीवनस्तर सुधार्ने सपना बोकेका लुखुरेले ऋणधन गरेर एउटा लाहुरी भैँसी किन्ने निर्णय गर्छन्। भैँसी किन्ने उनको योजना गाउँभरि फैलिन्छ र अन्ततः गाउँका शक्तिशाली तथा प्रभावशाली व्यक्तिहरूसम्म पुग्छ। त्यसपछि सुरु हुन्छ एउटा सामान्य मानिसको सपनामाथि हुने हस्तक्षेप, दबाब र स्वार्थको खेल।

नाटक हेर्दा मलाई लाग्यो, यो केवल भैँसीको कथा होइन। यो त आजको समाज, सत्ता, शक्ति र राजनीतिक संरचनाको प्रतीकात्मक कथा हो। यहाँ भैँसी एउटा बिम्ब बनेर आएको छ, जसले सामान्य मानिसको सपना, आकांक्षा र समृद्धिको चाहनालाई प्रतिनिधित्व गर्छ। तर जब त्यो सपना पूरा हुने चरणमा पुग्छ, तब शक्ति, पहुँच, स्वार्थ र चाकडी संस्कृतिले त्यसलाई कसरी आफ्नो नियन्त्रणमा लिन खोज्छ भन्ने कुरा नाटकले अत्यन्त प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।
नाटकमा देखाइएको परिवेश निर्माण, दृश्य संयोजन र निर्देशनमा गरिएको मेहनत स्पष्ट महसुस गर्न सकिन्छ। प्रत्यक्ष (लाइभ) सङ्गीत, प्रकाश संयोजन तथा मञ्चीय प्रयोगहरूले नाटकलाई अझ प्रभावशाली र जीवन्त बनाएका छन्। कलाकारहरूको अभिनय पनि पात्रअनुकूल र विश्वसनीय लाग्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, यो नाटक कुनै पुरानो समयको कथा मात्र होइन, आजको यथार्थ पनि हो। त्यसैले यसले दर्शकलाई मनोरञ्जन मात्र होइन, सोच्न बाध्य पनि बनाउँछ।
रंगमञ्च सधैँ दर्शकको प्रतिक्रियाको भोको हुन्छ। सकारात्मक वा आलोचनात्मक जुनसुकै प्रतिक्रिया किन नहोस्, त्यसले कलाकार र स्रष्टालाई अझ परिष्कृत र सशक्त बन्न मद्दत गर्छ। त्यसैले नाटक हेरेपछि आफ्नो विचार र तर्कसहित प्रतिक्रिया दिन नबिर्सनुहोस्।
समग्रमा, ‘लाहुरी भैँसी’ एकपटक अवश्य हेर्नुपर्ने विचारोत्तेजक र समयसापेक्ष नाटक हो।


प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया