काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवान नेपाली भूमिमा प्रवेश गरेको भनिएको घटनाबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद भरत गिरीले उक्त विषय राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै सरकारको जवाफदेहिता आवश्यक रहेको बताए।
उनका अनुसार गत जुन १३ मा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोल क्षेत्रमा हतियारसहित एसएसबीका जवानहरू पूर्वस्वीकृतिबिना नेपाली भूमिमा प्रवेश गरेका थिए। स्थानीय बासिन्दा तथा किसानहरूको प्रतिरोधपछि उनीहरू फर्किएको दाबी उनले गरे।
सांसद गिरीले सीमावर्ती क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदा स्थानीय नागरिक नै सीमा सुरक्षाको जिम्मेवारी वहन गर्न बाध्य भएको टिप्पणी गरे। सीमाक्षेत्रका बासिन्दाहरूले आफ्नै पहलमा राष्ट्रको भूभाग जोगाउने प्रयास गरिरहेको अवस्था चिन्ताजनक रहेको उनको भनाइ थियो।
नेपाल–भारत खुला सीमाको पूर्वमा पशुपतिनगरदेखि पश्चिममा महाकालीसम्म फैलिएको क्षेत्रका लाखौँ नागरिकको सुरक्षा र सीमा संरक्षणबारे सरकारको स्पष्ट नीति के छ भन्ने प्रश्नसमेत उनले उठाए। सुस्ता प्रकरणसँगै कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता राष्ट्रिय महत्वका सीमा मुद्दाप्रति सरकारले थप संवेदनशीलता देखाउनुपर्नेमा उनले जोड दिए।
यस्ता घटना पुनः दोहोरिन नदिन सीमावर्ती संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन, सीमा सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा नेपाल–भारतबीच हुने परराष्ट्रस्तरीय संवाद र बैठकहरूमा यस विषयलाई प्रभावकारी रूपमा उठाउन सरकारसँग उनले आग्रह गरे।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया