काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा सभामुखप्रति आवश्यक सम्मान नदेखाएको आरोपमा दुई मन्त्रीमाथि संसदमा प्रश्न उठेको छ। नेकपा (एमाले) का सांसद ऐन महरले मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा यस विषयमा आपत्ति जनाउँदै सदनको मर्यादा पालनामा सबै जिम्मेवार हुनुपर्ने बताएका हुन्।

बैठकको सुरुआतमा सभामुख डीपी अर्याल बैठक कक्षमा प्रवेश गर्दा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आफ्नो आसनबाट नउठेको भन्दै सांसद महरले नियमावली उल्लंघन भएको दाबी गरे।

advertisement

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम २० (क) अनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा उपस्थित सदस्यहरूले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले उक्त व्यवहारले संसदीय मर्यादामाथि प्रश्न उठाएको बताए।

‘सदनको गरिमा र मर्यादा कायम राख्नु हामी सबैको साझा दायित्व हो,’ महरले भने, ‘नियमावलीले स्पष्ट व्यवस्था गरेको विषयको पालना सबै सांसद र मन्त्रीबाट समान रूपमा हुनुपर्छ।’

उनले सभामुख प्रवेश गर्दा दुई मन्त्री आसनमै बसेको दृश्यले आफूलाई चिन्तित बनाएको उल्लेख गर्दै यस्ता विषयमा गम्भीर ध्यान दिन आग्रह गरे।

यसैबीच, दुवै मन्त्री पछिल्ला दिनमा विभिन्न अभिव्यक्तिका कारण सार्वजनिक बहसको केन्द्रमा रहेका छन्। केही दिनअघि अर्थमन्त्री वाग्लेले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा आलोचक सांसदहरूका विषयमा टिप्पणी गरेपछि विपक्षी दलहरूले त्यसप्रति आपत्ति जनाएका थिए।

त्यसैगरी, पूर्वाधार विकासमन्त्री लम्सालले नागढुंगा–मुग्लिङ सडक आयोजनाको निरीक्षणका क्रममा दिएको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति सार्वजनिक भएपछि त्यसको पनि व्यापक आलोचना भएको थियो।

सांसद महरले संसदीय अभ्यास, संस्थागत सम्मान र मर्यादासम्बन्धी विषयमा सबै जनप्रतिनिधि तथा मन्त्रीहरू संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नियमावलीमा यस्तो व्यवस्था छ-

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com