काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेल तथा जोखिमपूर्ण अवस्थामा रहेका नेपाली महिलाहरूको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका अनेकौँ नेपाली महिलाहरूले अमानवीय व्यवहार, शोषण र कठिन परिस्थितिको सामना गरिरहेको बताइन्। उनले त्यहाँ रहेका नेपाली महिलाहरूको अवस्था अत्यन्त चिन्ताजनक रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि तत्काल प्रभावकारी पहल आवश्यक रहेको धारणा राखिन्।
सांसद ओलीले कुवेतमा समस्यामा परेकी नेपाली महिला शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी स्वदेश फर्काउन सफल भएको जानकारी दिइन्। उनले उक्त उद्धार कार्यका क्रममा त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको दयनीय र पीडादायी अवस्था नजिकबाट बुझ्ने अवसर पाएको बताइन्।
उनका अनुसार शर्मिला दर्जीको उद्धारका लागि आफूले प्रतिनिधिसभामा तीनपटकसम्म विषय उठाएकी थिइन्। साथै नेपाली राजदूतावाससँग निरन्तर समन्वय र पहल गरेपछि मात्रै उनलाई सुरक्षित रूपमा नेपाल फर्काउन सम्भव भएको थियो।
उद्धार गरिएकी शर्मिला दर्जीको भनाइ उद्धृत गर्दै ओलीले कुवेतका विभिन्न जेलहरूमा अझै पनि सयौँ नेपाली महिलाहरू रहेको जानकारी गराइन्। तीमध्ये कतिपय महिलाहरूले लामो समयको पीडा, तनाव र असुरक्षाका कारण मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर समस्या समेत भोगिरहेको उनले बताइन्।
सांसद ओलीले अवैध माध्यमबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिलाहरू विभिन्न जोखिममा रहेको दाबी गर्दै उनीहरूको अवस्था पहिचान गरी सुरक्षित रूपमा स्वदेश फर्काउने वातावरण तत्काल निर्माण गर्न सरकारसँग माग गरिन्।
विदेशमा समस्यामा परेका नेपाली नागरिक, विशेषगरी महिलाहरूको उद्धार र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिइन्।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया