काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ । भरतपुर–१० स्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना हुनेछ ।
उद्घाटनमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने छन् । बालेनको सम्बोधन संक्षिप्त रहने भएको छ । महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाहले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन् । जिल्ला अध्यक्ष मिनी माधव खनाल र महानगर अध्यक्ष सीता ज्ञवालीले स्वागत मन्तव्य दिनेछन् ।
रास्वपाले राष्ट्रिय मान्यताप्राप्त सबै दलहरूलाई महाधिवेशनमा निमन्त्रणा दिएको छ । कांग्रेसबाट सभापति गगन थापा, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन, एमालेबाट पूर्वउपमहासचिव प्रदीप ज्ञवाली र नेकपाबाट वर्षमान पुन चितवन आउनेछन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने नआउने पूर्वघोषणा गरिसकेका छन् ।
रास्वपाको नीतिअनुसार अन्य पार्टीबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री (सभापति, उपसभापति र महासचिव) स्तरका नेताहरू आएमा उनीहरूलाई मञ्चबाट शुभकामना मन्तव्य राख्न दिइनेछ । त्यसबाहेकका प्रतिनिधिहरूलाई सम्मानसाथ मञ्चमा राखिने तर बोल्ने अवसर नदिइने भएको छ ।
महाधिवेशनमा विदेशी प्रतिनिधिहरूलाई बोलाएको छैन । उद्घाटन कार्यक्रमलाई सकेसम्म छोटो र व्यवस्थित राख्ने तयारी छ ।
यो महाधिवेशनमा करिब ४ हजार २११ जना प्रतिनिधि सहभागी हुने छन् । चितवन प्रदर्शनी केन्द्रमा बन्द सत्र सञ्चालन हुनेछ । रास्वपाले यसलाई आफ्नो भावी दिशा निर्धारण, संगठनात्मक सुदृढीकरण र नीतिगत स्पष्टताका लागि महत्वपूर्ण अवसरको रूपमा हेरेको छ ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार













प्रतिक्रिया